• २०८३ असार २९
  • 2026 July 13, Monday

रसुवाको बाढीपीडितका पक्षमा युवा संघले बुझायो प्रधानमन्त्री समक्ष तीन सूत्रीय आग्रहपत्र

असार २४ गते लेन्दी खोलामा आएको विनाशकारी बाढीले रसुवा जिल्लामा ठूलो क्षति पुर्‍याएको छ।

बाढीका कारण स्याफ्रुबेशी बजारमुनि जमिन कटान भएको, केरुङ नाकामा सयौं नेपाली मजदुरहरू अलपत्र परेको, यातायात व्यवसाय, व्यापार, तथा भौतिक संरचनाहरू पूर्ण रूपमा प्रभावित भएका छन्। यसको असर केवल रसुवामा मात्र सीमित नरही, समग्र राष्ट्रको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको छ।

यसै क्रममा राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी रसुवाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीन सूत्रीय आग्रहपत्र हस्तान्तरण गरेको छ। आग्रहपत्रमा केरुङ नाकामा अड्किएका नेपालीहरूलाई तत्काल नेपाल ल्याउने, रसुवागढीमा बेलिब्रिज (मितेरी पुल) निर्माणको व्यवस्था मिलाउने, र स्याफ्रुबेशी बजारमुनिको कटान तत्काल रोकथाम गर्नुपर्ने मागहरू उठाइएको छ।

प्रधानमन्त्री ओलीले केरुङमा रोकिएका नेपालीहरूलाई एक–दुई दिनभित्रै स्वदेश फर्काउने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय युवा संघले यस्तो विपद्को घडीमा जनताको हकहितका लागि आवाज उठाउनु आफ्नो कर्तव्य भएको बताउँदै आगामी दिनमा पनि पीडितको पक्षमा निरन्तर काम गरिरहने स्पष्ट पारेको छ।