• २०८३ असार २९
  • 2026 July 13, Monday

दक्षिण अष्ट्रेलियाको एनआरएनए निर्वाचनमा कृष्णप्रसाद भण्डारीको सह-सचिव पदमा उम्मेदवारी

आउँदो साउन १० गते हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलियाको निर्वाचनमा सह-सचिव (संयुक्त सचिव) पदका लागि पोखरा स्थायी ठेगाना भई हाल एडिलेडमा बसोबास गर्दै आएका कृष्णप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गरेका छन्।

भण्डारीले विगत दुई वर्षदेखि अष्ट्रेलियामा शारीरिक तथा अनलाइन माध्यमबाट विभिन्न प्रकारका तालीम सञ्चालन गर्दै आएका छन्। एडिलेड नेपाली समाज र एनआरएनए दक्षिण अष्ट्रेलियाद्वारा आयोजित सामाजिक, सांस्कृतिक र शैक्षिक कार्यक्रमहरूमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।

शैक्षिक पृष्ठभूमिमा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका भण्डारीले न्युरो लिङ्ग्विस्टिक प्रोग्रामिङ तथा प्रशिक्षक प्रशिक्षणजस्ता तालीमहरू प्राप्त गरेका छन्। यस्ता तालिमहरूमार्फत उनले व्यक्तित्व विकास, संप्रेषण कला र नेतृत्व सीपको क्षेत्रमा अनुभव सँगालेका छन्।

नेपालमा आठ वर्ष स्कुल तथा कलेजमा अध्यापन गरेका भण्डारी हिमाल कलेज अफ म्यानेजमेन्टको सञ्चालक समितिमा समेत आवद्ध रहिसकेका छन्। उनले नेपालका विभिन्न सहरमा स्कुल, कलेज, बैंक, सहकारी, बीमा कम्पनी, लायन्स क्लब, जेसीजलगायत संघ–संस्थामा तालीम प्रदान गर्दै अनुभव बटुलेका छन्।

ईजी एकेडेमी नामक तालिम संस्थाका संस्थापकसमेत रहेका उनले अष्ट्रेलियामा पनि दक्षता विकास तथा नेतृत्व अभिवृद्धिमा निरन्तर योगदान दिइरहेका छन्।

सह-सचिव पदमा उम्मेदवारी दर्ता गरेपछि उनले भने, “एनआरएनए दक्षिण अष्ट्रेलियामा नेपाली समुदायको हितमा, विशेष गरी युवा तथा पेशागत क्षेत्रमा संलग्न व्यक्तिहरूलाई जोड्ने पुलको रूपमा काम गर्ने मेरो स्पष्ट उद्देश्य हो।”

उनको उम्मेदवारीसँगै सह-सचिव पदमा हुने प्रतिस्पर्धालाई थप चासोका साथ हेरिएको छ।