• २०८३ असार २९
  • 2026 July 13, Monday

भूमि विधेयकबारे कांग्रेसले गर्‍यो भूमि व्यवस्था मन्त्री बलराम अधिकारीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसले भूमि सम्बन्धी विधेयकमा देखिएको असहमतिको समाधान खोज्न सक्रिय छलफल थालेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बोलाएर प्रत्यक्ष संवाद गरेको हो।

छलफलमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखकसहित भूमि विधेयकमा संशोधन प्रस्ताव राखेका सांसदहरूको सहभागीता थियो। कांग्रेसले उक्त विधेयकमा अझ विस्तृत छलफल आवश्यक भएको ठहर गर्दै यसलाई समितिमा पठाउनुपर्ने माग गर्दै आएको छ।

यसैबीच, २५ असारका लागि तय गरिएको प्रतिनिधिसभाको कार्यसूचीबाट कांग्रेसको कडा अडानका कारण विधेयक हटाइएको थियो।

कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार सरकार र संशोधन पक्षबीच भएको पछिल्लो छलफलमा विधेयकलाई अहिलेको स्वरूपमै पारित गर्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको छ। “संशोधन प्रस्ताव राख्ने अन्य दलका सांसदहरूसँग पनि छलफल गर्ने मन्त्रालयको तयारी छ,” गौतमले भनिन्, “हामी विधेयकलाई समितिमा पठाएर थप छलफलपछि सहमतिका आधारमा अघि बढाउन चाहन्छौं।”

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा सहित १० जना सांसदहरूले विधेयकमा संशोधन प्रस्ताव दर्ता गरिसकेका छन्। मन्त्रालयले अहिले सबै सरोकारवालासँग परामर्श गरेर साझा सहमतिमा विधेयक अघि बढाउने रणनीति बनाइरहेको कांग्रेस नेताहरूले बताएका छन्।

कांग्रेसको यो चासोले भूमि विधेयकले नयाँ मोड लिने संकेत देखिएको छ। अबको कदममा विधेयक समितिमा पठाइने वा सहमति जुटाएर पुनः सदनमा टेबल गरिने भन्ने विषयमा चाँडै निर्णय हुने अपेक्षा गरिएको छ।