विद्यालयको कक्षा कोठामा शिक्षिका मृत फेला

धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको कक्षा कोठामा एक शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृतक ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर विद्यालयकै बाल विकास कक्षामा अध्यापन गरिरहेकी थिइन्।

घटना साउन १ गते बिहान करिब ४:४५ बजे सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनास्थलमै रहेको मृतकको स्कुटीको डिक्कीबाट एक सुसाइड नोट पनि फेला परेको छ। त्यसको आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

प्रारम्भिक अनुसन्धानमा शिक्षिका मगरले जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवबाट ३ लाख २० हजार रुपैयाँ ऋण लिएको खुल्न आएको छ। ऋण तिरेको भए पनि यादवले खाली चेकमा ४५ लाख रुपैयाँ उल्लेख गर्दै बार्गेनिङ गरिरहेको प्रहरीको भनाइ छ।

प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार, यादवले शिक्षिकालाई बारम्बार मानसिक दबाब, धम्की र अपमानजनक व्यवहार गर्दै आएका थिए। सुसाइड नोटमा उल्लेख भएका विवरणहरूसहित यादवलाई साउन २ गते नै पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ।

यादवको घरबाट प्रहरीले ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंक भौचर र चेकहरू समेत बरामद गरेको छ।

शिक्षिकाकी परिवारका सदस्यका अनुसार, यादवले असार ३२ गते घरमै पुगेर पैसा तिर्न बलजफ्ती गरेका थिए र चेक बाउन्सको आधारमा जेल पठाउने धम्की दिएका थिए। ऋणको कुरा परिवारभित्र पनि धेरैलाई जानकारी थिएन।

यो घटनाले मिटरब्याजी समस्याको गम्भीर रूप फेरि उजागर गरेको छ। अनुसन्धान जारी रहेको र दोषी पुष्टि भएमा कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१