• २०८३ असार २९
  • 2026 July 13, Monday

बीपी स्मृति दिवसको अवसरमा ‘बिपी, युग चेतना र आजको राजनीति’ विचार गोष्ठी आयोजना

काठमाडौं। प्रजातान्त्रिक समाजवादका प्रणेता महामानव बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा एक विशेष विचार गोष्ठीको आयोजना हुने भएको छ। ‘लोकतन्त्रका लागि ऐक्यबद्धता नेपाल’ को आयोजनामा “बिपी, युग चेतना र आजको राजनीति” शीर्षकमा उक्त विचार गोष्ठी आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार, पछिल्लो समय बीपी विचारको अवधारणाविपरीत बढ्दै गैरहेको अतिवाद, समाजमा विग्रह ल्याउने प्रवृत्ति र सामाजिक सद्भाव खलबल्याउने परिपाटीका विरुद्ध वैचारिक बहस सिर्जना गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो। वर्तमान नेपाली राजनीति र समाजले भोगिरहेका चुनौतीहरूलाई बीपीको दर्शनसँग जोडेर विश्लेषण गर्नु यस गोष्ठीको मुख्य उद्देश्य रहेको बताइएको छ।

कार्यक्रममा नेपाली राजनीतिका चर्चित व्यक्तित्वहरूले आफ्नो विचार प्रस्तुत गर्नुहुनेछ। मुख्य वक्ताहरूमा डा. मिनेन्द्र रिजाल, डिल्ली राम सुवेदी, सुरेन्द्र प्र. चौधरी, र डा. इन्द्र अधिकारी लगायत अन्य नेता तथा विश्लेषकहरू रहनुभएको छ। वक्ताहरूले बीपीको विचार आजको सन्दर्भमा कति सान्दर्भिक छ र उहाँको मार्गदर्शनबाट वर्तमानका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्नुहुनेछ।

विचार गोष्ठी कार्यक्रमको आयोजना लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले गर्दैछ । कार्यक्रम २०८१ साउन ७ गते, सोमबार दिउँसो २:३० बजेदेखि ५:०० बजेसम्म काठमाडौंस्थित अनामनगरमा रहेको नबिल बैंकको आठौँ तल्लामा हुनेछ ।

आयोजकले बीपीका अनुयायी, प्रजातन्त्रप्रेमी तथा समसामयिक राजनीतिमा चासो राख्ने सम्पूर्ण बुद्धिजीवी, नागरिक समाजका अगुवा, पत्रकार तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई विचार-विमर्शमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।