उच्च अदालत सुर्खेत, जुम्लामा ९३ प्रतिशत मुद्दा हल

जुम्ला । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधानका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा दर्ता भएकामध्ये ९३ दशमलव ०८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको छ ।

आव २०८१/०८२ मा नयाँ दर्ता भएका १९१ र जिम्मेवारी सरेका २६ मुद्दा गरी कूल २१७ वटा मुद्दा दर्ता भएका थिए । जसमा गत आवको असार मसान्तसम्म कूल दर्ता भएका मुद्दामध्ये २०२ वटा अर्थात् ९३ दशमलव ०८ प्रतिशत मुद्दा फर्छ्यौट भएको र अब १५ वटा मात्र मुद्दा बाँकी रहेको मुख्य न्यायाधीश प्रधानले जानकारी दिए।

वार्षिक लक्ष्य १७८ रहेकामा लक्ष्यभन्दा बढी मुद्दा किनारा लगाउन अदालत सफल भएको प्रधानले बताए । आव २०७९/०८० देखि २०८१/८२ सम्म तीन वर्षको तुलना गर्दा आव २०८१/८२ मा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको सो अदालतले स्पष्ट गरेको छ ।

पछिल्लो तीन आवका वार्षिक मुद्दाको लगत, फर्छ्यौटको तथ्याङ्क हेर्दा आव २०७९/०८० मा कूल २५५ मुद्दामध्ये २०५ वटा अर्थात् ८० दशमलव ३९ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो । त्यस्तै आव २०८०/८१ मा दर्ता भएका २७९ मध्ये २५३ अर्थात् ९० दशमलव ६८ प्रतिशत मुद्दा फर्छ्यौट भएको सो अदालतले जनाएको छ ।

यसैगरी गत आवमा थुनुवा मुद्दा सङ्ख्या ४३ रहेकामा ४० मुद्दा फर्छ्यौट भएका छन् । जुम्ला इजलासमा रिट निवेदनतर्फ ३४, जबर्जस्ती करणी ६२, ज्यान मार्ने उद्योग १४, कर्तव्य ज्यान १०, बहुविवाह पाँच, सम्बन्ध विच्छेद दुई, सवारी ज्यानतर्फ चार, अङ्गभङ्ग दुई र मानव बेचबिखन तथा ओसारपसारतर्फ पाँच वटा मुद्दा दर्ता भएका थिए ।

त्यस्तै जातीय विभेदतर्फ दुई, लागुऔषधमा १४, अवहेलनामा दुई, हातहतियार तथा खरखजानामा चार, चोरीमा नौ, अंशसम्बन्धी चार र अन्य अन्यतर्फ ३४ वटा मुद्दा गत आर्थिक वर्षमा दर्ता भएको सो अदालतले जनाएका छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१