• २०८३ जेठ २७
  • 2026 June 10, Wednesday

काँग्रेसका ७ केन्द्रीय सदस्यले पार्टी निर्णय कार्यान्वयनका लागि छलफल

काठमाडौँ । नेपाली काँग्रेसमा तेस्रो उमेर समूहका नेताहरू एकत्रित गराउने उद्देश्य सहित सात केन्द्रीय सदस्यले छलफल गरेका छन् । बुधबार सात केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन् ।

केन्द्रीय सदस्यहरू नैनसिंह महर, जीतजंग बस्नेत, राजीव ढुंगाना, कुन्दनराज काफ्ले, नानु बाँस्तोला, उर्मिला थपलिया र माया राईले बुधबार छलफल गरेका हुन् । आजको बैठकको पहल बागमती प्रदेशका मन्त्री समेत रहेका कुन्दनराज काफ्ले र राजीव ढुंगानाले गरेका थिए ।

पार्टीले गरेका निर्णयहरू कार्यान्वयनमा दबाब दिने उद्देश्य सहित सात केन्द्रीय सदस्यले छलफल भएको नेविसंघका पूर्व अध्यक्ष समेत रहेका राजीव ढुंगानाले जानकारी गराए । ‘पार्टीले गरेका निर्णय कार्यान्वयन गर्न दबाब पर्छ भनेर युवा पुस्ताका केन्द्रीय सदस्यको आज पहिलो बैठक गरेका हौँ,’ ढुंगानाले भने,‘यो क्रम बढ्दै जान्छ । र, अरु साथीहरू पनि जोडिनु हुन्छ ।’

यो उमेर समूहका नेताहरूको छलफल निरन्तर हुने अर्का नेता काफ्लेले जानकारी गराए । युवा पुस्ताका नेताहरुले साझा मुद्धा बनाएर हातेमालो गर्ने अभिप्रायले छलफल सुरु भएको काफ्लेले जानकारी गराएका छन् ।