
काठमाडौं । राजधानीको ‘प्रतिष्ठित’ भनिने काठमाडौं मोडल कलेज (KMC) अहिले विद्यार्थीमाथिको शारीरिक, मानसिक र यौन शोषणका गम्भीर आरोपमा मुछिएको छ। विद्यार्थीहरूले सामाजिक सञ्जाल र निजी बयानमार्फत आफूहरूले कलेजभित्र अनुशासनको नाममा अपमान र पीडा भोग्नुपरेको खुलाएका छन्।
छात्रा–छात्रहरूले खुला रूपमा कलेज प्रशासनमाथि यौन उत्पीडन, गालीगलौज, निजत्वमा हस्तक्षेप र धम्की जस्ता आरोप लगाउँदै आएका छन्। एक छात्रा, जसको नाम कल्पना (नाम परिवर्तन) हुलाक सञ्चारसँगको कुराकानीमा भन्छिन् — ‘कलेजको हल वेमा मलाई सर्ट खोल्न भनियो। साथीहरूको अगाडि। लाजले जति सक्दो चाँडो लुक्न खोजेँ तर उनीहरू हाँसिरहेका थिए। कस्तो अनुशासन ?’
त्यस्तै अर्की छात्रा सुरक्षा (नाम परिवर्तन) भन्छिन् — ‘स्वास्थ्य जाँच गर्ने बहानामा संवेदनशील अङ्ग छामियो। मैले भन्न सकिनँ। न घरमा, न साथीलाई। अहिले पनि कतिले चुप लागिरहेका छन्।’
मनसिक यातना र ब्ल्याकमेल
विद्यार्थीहरूका अनुसार, व्यक्तिगत पारिवारिक कुरा कोट्याएर धम्क्याउने, सीसीटीभी फुटेज देखाएर निगरानी गर्ने, डायरी खोस्ने, गहना हराउने जस्ता अनेक आरोप छन्। ‘मसँग तीन हजार रुपैयाँ थियो, डायरी खोस्दा हरायो। गहना पनि लगिएको भिडियो देखियो,’ अनुष्का (नाम परिवर्तन) ले भनिन्।
वाशरूम प्रयोगजस्तो सामान्य अधिकार समेत कडा नियन्त्रणमा राखिएको आरोप कलेजमाथि लागेकाे छ। ‘दुई मिनेट ढिला भएर वाशरूमबाट निस्किएँ भने कक्षामा अपमान गरिन्छ’ एक छात्राको भनाइ छ ।
कारबाहीको नाटक ?
विद्यार्थीहरूको दबाबपछि केही व्यक्तिमाथि कलेजले कारबाही गरेको भने पनि पारदर्शिता नदेखिएको आरोप लगाएका छन्। ‘पोस्टहरू मेटाइन्छन्, कुरा दबाइन्छ, दोषी संरक्षित छन्,’ उनीहरूको भनाइ छ।
विदेशमा नेपाली छात्राको मृत्यु : चेतावनीपूर्ण उदाहरण
नेपालमै यस्ता घटना गम्भीर छन् भने विदेशमा के कस्तो परिणाम ल्याउँछ भन्ने उदाहरण हालै भारतको ओडिशास्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा देखियो।
२० वर्षीया नेपाली छात्रा (प्रकृति) लाई विश्वविद्यालय प्रशासनले मानसिक यातना र ब्ल्याकमेल गरेको उजुरी थाँती राख्यो। उनले दुईपटक उजुरी दिइन्, तर सुनुवाइ भएन। अन्ततः २०८१ फागुन ४ गते उनी आफ्नै छात्रावासमा मृत भेटिइन्।
अर्की छात्रा (प्रिसा) पनि उजुरीको बेवास्ता, क्याम्पसको असुरक्षा र अपमानकै कारण १८ वैशाखमा मृत अवस्थामा फेला परिन्। भारतको विश्वविद्यालय अनुदान आयोगले छानबिन गर्दा चरम लापरवाही, यौन दुर्व्यवहार उजुरीको बेवास्ता र गैरकानुनी मिलापत्रजस्ता भयावह तथ्य उजागर भएको छ।
छात्रा प्रकृतिले मृत्यु अघि भनेकी थिइन् — ‘मलाई ब्ल्याकमेल गरिएको छ, मेरो उजुरीमा सुनुवाइ भएन भने मसँग अरू विकल्प छैन।’
के मृत्युपछि मात्रै सुध्रिन्छ शैक्षिक प्रणाली ?
काठमाडौं मोडल कलेजका छात्राहरू भन्छन् — ‘हाम्रो आवाज पनि बेवास्ता भए हामी पनि मानसिक रूपमा कति बाँच्न सक्छौं ? पढ्न आएका हौं, आत्महत्या गर्न होइन। कलेजको गेटभित्र हामी किन असुरक्षित ?’
ओडिशाको घटना अहिले नेपालकै निजी कलेजहरूका लागि चेतावनी हो। उजुरीलाई चुपचाप थाँती राख्ने, पीडितलाई चुप लगाउने, दोषीलाई जोगाउने संस्कारले अन्ततः कति सपना चिहान पुर्याउँछ भन्ने ठोकुवा यसले गरिदिएको छ।
विद्यार्थीहरू भन्छन् — ‘अब हामी चुप लाग्दैनौं। समयमै नसुध्रिने हो भने आज ओडिशा जस्तो घटना भोलि यतै दोहोरिन सक्छ।’
के भन्छ कलेज प्रशासन ?
विद्यार्थीहरूको बढ्दो आवाज र सामाजिक सञ्जालमा फैलिएको जनआक्रोशपछि काठमाडौँ मोडल कलेजले बिहीबार एक औपचारिक विज्ञप्ति जारी गर्दै घटनाको प्रतिक्रिया दिएको छ।
कलेजले केही काउन्सेलिङ टिमका सदस्यहरूका व्यवहारबारे आएका गुनासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै तुरुन्त आवश्यक कारबाही गरिएको र हाल आन्तरिक अनुसन्धान जारी रहेको उल्लेख गरेको छ।
कलेजले निष्पक्षता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर विषयवस्तुमा गहिरो रुपमा छानबिन गरिरहेको जानकारी दिएको छ। कलेजले शारीरिक वा मानसिक दूर्व्यवहारप्रति शून्य सहनशीलताको नीति लागू रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।
प्रशासनले विद्यार्थीहरूसँग संवाद गर्दै उनीहरूको प्रतिक्रिया संकलन गरिसकेको जनाएको छ र थप छलफलका कार्यक्रम समेत अघि बढाइएको बताएको छ ।