• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नेपालगन्जमा युवतीको हत्या: लिभिङ टुगेदरमा रहेका विवाहित प्रेमी पक्राउ

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा एक युवतीको हत्या भएको छ। ३३ वर्षीय प्रकाश सुनारले आफ्नी प्रेमिका १९ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरेका हुन्।

स्थानीयका अनुसार प्रकाश र निर्मला केही वर्षदेखि सँगै कोठामा बस्दै आएका थिए। प्रहरीका अनुसार घटनापछि कोठा बन्द गरेर फरार भएका प्रकाशले एक दिनपछि आफैं मृतकका परिवारलाई फोन गरी हत्या गरेको जानकारी दिएका थिए।

बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता दीपक पतालीका अनुसार, “प्रकाशले शुक्रबार बिहान फोन गरेर निर्मलाको हत्या आफूले गरेको स्वीकार गरे। त्यसपछि आत्मसमर्पण गर्न प्रहरी कार्यालय जाँदै गर्दा उनलाई धम्बोझी नजिकबाट पक्राउ गरियो।”

प्रकाशको भनाइका आधारमा प्रहरी घटनास्थल पुगेको थियो। उनीहरू बस्दै आएको डेराबाट प्रहरी टोलीले निर्मलाको शव फेला पारेको हो।

प्रकाश विवाहित हुन्। उनको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनले प्रहरीसमक्ष मृतक निर्मलालाई “मेरो कान्छी श्रीमती” भनी बयान दिएका छन्। डीएसपी पतालीका अनुसार, “हत्या गर्नुको कारण अझै खुल्न बाँकी छ, अनुसन्धान जारी छ।”

दैलेख घर भएकी निर्मला नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्थिन् भने प्रकाश स्थानीय स्वस्तिक कटेजमा काम गरिरहेका थिए।

घटना रहस्यमय देखिएकाले अनुसन्धानको दायरा फराकिलो बनाइएको प्रहरीले जनाएको छ।