• २०८३ जेठ २७
  • 2026 June 10, Wednesday

विद्यार्थीसँग सांसद किराँती: आन्दोलनको खाका छ, विकासको छैन

  • २०८२ साउन ११, आइतबार १२:४२

काठमाडौं — माओवादी सांसद तथा पूर्वमन्त्री सुदन किराँतीले नेपालको सबैभन्दा ठूलो समस्या भनेको देश विकासको स्पष्ट खाका नहुनु रहेको बताएका छन्।

युथ भिजन नेटवर्कद्वारा आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधि’ शृङ्खलाको तेस्रो श्रृङ्खलामा विद्यार्थीहरूसँग संवाद गर्दै उनले भने, “हामीसँग आन्दोलन गर्ने रणनीति प्रशस्त थियो, तर देश कसरी समृद्ध बनाउने भन्ने स्पष्ट खाका बनेन। आन्दोलनले सत्ता परिवर्तन त भयो, तर जनजीवन परिवर्तन भएन।”

उनले उदाहरण दिँदै भने, “२०० वर्षअघि युरोपमा हलोमा मान्छे जोतिन्थ्यो, नेपालमा गोरु। आज युरोप चन्द्रमामा पुगिसक्यो, तर नेपाल अझै गोरु जोत्नमै सीमित छ।”
उनका अनुसार, नेपालको पछाडिनुको मूल कारण भनेको ज्ञान, विज्ञान, र प्राविधिक शिक्षामा लगानीको अभाव हो।

सांसद किराँतीले जोड दिँदै भने, “विदेश गएका देशहरूको अनुकरण गरेर मात्र विकास हुँदैन। नेपालको आफ्नै मौलिकता, भूगोल र समाज अनुसारको विकास मोडल बनाउनु आवश्यक छ।”

कार्यक्रममा सहभागी विद्यार्थीहरूले सांसद किराँतीसँग राजनीतिक यात्रा, अनुभव र विचारहरूबारे जिज्ञासा राखेका थिए। उनले विद्यार्थीहरूलाई पनि देश विकासको योजनामा सोच्न, संलग्न हुन र नेतृत्व लिन आह्वान गरे।

कार्यक्रम युथ भिजन नेटवर्कको आयोजनामा सम्पन्न भएको हो। आयोजकका अनुसार, यस्ता अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थी र जनप्रतिनिधिबीच प्रत्यक्ष सम्वादको अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ।

  • २०८२ साउन ११, आइतबार १२:४२