
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आईएनजीओ/ एनजीओका नामबाट नेपालमा शक्ति राष्ट्रहरुले निकै ठूलो रकम खर्च गरिराखेको बताएका छन् ।
माओवादी केन्द्र समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम’मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसरी आउने र खर्च गरिने रकममा सरकारको नियमनको आवश्यकता औंल्याए ।
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा त्यसरी आउने पैसालाई कसरी नियमन गर्न सकिन्छ भन्ने प्रयास गरेको पनि बताए । उनले त्यसरी एनजीओ, आईएनजीओको नाममा आउने रकम समानान्तर बजेट, सरकाको भन्दा ठूलोजस्तो देखिएको बताए ।
यसरी आउने अनुदानलाई राज्यले आफ्नो नियम र अनुगमन प्रणालीभित्र राख्नुपर्ने उनको भनाइ छ । संस्थाहरूले आफ्नो ढंगले पैसा ल्याउने तर त्यसको सदुपयोग दुरुपयोग के भइरहेको छ भन्ने कुरामा राज्य बेखबरजस्तो देखिने कुरा राम्रो नहुने उनको भनाइ छ । अध्यक्ष प्रचण्डले ठूला–ठूला शक्ति राष्ट्र र त्यहाँका धनाढ्य, पुँजीपतिहरूले गरिब देशहरूमा प्रभाव, प्रभूत्व विस्तार गर्न लगानी बढाइरहेको उनको भनाइ छ ।