सुध्रिएन सिंहदरवारको अव्यवस्थित पार्किङ, मन्त्रीका गाडी पनि ढोकैमा

काठमाडौँ । सवारीसाधन पार्किङको समस्या काठमाडौँका सडकमा मात्र सीमित छैन, यसले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारभित्र पनि उस्तै विकराल रूप लिएको छ । यहाँ सरकारी र निजी दुवै सवारीसाधन मन्त्रालयअगाडि, सडक पेटी र पैदल मार्गमै जथाभाबी रूपमा पार्किङ गरिएको पाइन्छ ।

सोमबार दिउँसो सिंहदरवारभित्रको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयको प्राङ्गणमै गाडीहरू अव्यवस्थित रूपमा गरिएको पार्किङ देख्नेलाई लाज बनिरहेको थियो । नीति निर्माण गर्ने मन्त्रालयकै प्रवेशद्वार, सडक पेटी र पैदल मार्ग पार्किङ स्थल बनाइनु आफैमा असोभनिय त हो नै, सडक तथा सवारी व्यवस्थापनसँग सम्बन्ध राख्ने मन्त्रालयकै अगाडी यस्तो दृश्य हुनुले पालना गर्नुपर्ने नियम यहीँबाट उल्लंघन भएको देखिईरहेको थियो ।

पैदल यात्रीका लागि निर्माण गरिएका फुटपाथ छेकिनुका साथै मन्त्रालयको ढोकैअगाडि सवारी रोकेर राख्दा भित्र छिर्नसमेत मुस्किल हुने अवस्था बनेको छ । मन्त्री-सचिवका सवारीसाधनसमेत ढोकैमा रोकिने गरेको दृश्य आम देखिन्छ ।

कतिपय ठाउँमा ‘कृपया सडक पेटी (फुटपाथ)मा सवारीसाधन पार्किङ नगरौँ’, ‘पार्किङ निषेध’ भन्ने बोर्ड राखिएको छ । तर, ती सूचना पाटीको बेवास्ता गर्दै त्यहीँ सवारी राखिएको देखिन्छ । यसले सिंहदरवार क्षेत्र कुरूप मात्र बनेको छैन, कार्यालयहरूमा सेवा लिन आउने नागरिक र पैदल यात्रीहरूलाई समेत सास्ती खेप्नु परेको छ । दृष्टिविहीन व्यक्ति र असक्तहरूका लागि यो समस्या झनै कष्टकर बनेको छ ।

 

सिंहदरवारभित्रका अधिकांश मन्त्रालयमा पार्किङकै समस्या रहेको छ । पार्किङका लागि छुटाइएका स्थानहरूमा मन्त्रालयका कर्मचारीकै सवारीसाधनले भरिने हुँदा सेवाग्राहीले सडक किनारमै गाडी राख्न बाध्य छन् ।

के भन्छ मन्त्रालय ?
यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी आन्तरिक प्रशासन शाखाकी उपसचिव सुशीला पौडेल भन्छिन्, “जग्गाको अभावले गर्दा पार्किङ व्यवस्थित गर्न नसकिएको हो । एउटै भवनमा दुई वटा मन्त्रालय सञ्चालन भइरहेकाले पार्किङको समस्या झनै बढेको छ ।”

उनका अनुसार झण्डै ३० वर्षअगाडि निर्माण गरिएको मन्त्रालय भवन त्यसबेलाको आवश्यकताका आधारमा बनाइएकोले अहिलेको सवारी चाप धान्न सक्ने संरचना छैन । “यो समस्या कुनै एक मन्त्रालयको मात्रै होइन, सिङ्गो सिंहदरवार क्षेत्रको हो । त्यसको दीर्घकालीन समाधान तले पार्किङ स्थल निर्माण गरेर मात्र सम्भव भएको पौडेलको भनाइ छ ।

उनले थपिन्, “पार्किङ समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट पटक–पटक निर्देशन आउँछ । सचिवस्तरीय बैठकहरूमा पनि यस विषयमा छलफल हुन्छ । तर, पर्याप्त ठाउँ नभएकाले तत्काल समाधान गर्न सकिएको छैन ।”

यसबारे खानेपानी मन्त्रालयकी सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले भने फोन उठाइनन् ।

सरकारी कार्यालयभित्रको पार्किङ मिलाउने काम ट्राफिक प्रहरीको होइन’
यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक प्रहरीको काम सरकारी कार्यालयभित्रको पार्किङ मिलाउने नभएको बताए । “मन्त्रालय अगाडि सवारीसाधन राख्ने र मिलाउने कार्यमा ट्राफिक प्रहरीले केही सहजीकरण गर्न सक्छ,” उनले भने, “तर सबै मन्त्रालयहरूको सवारी व्यवस्थापन गर्ने जिम्मा ट्राफिक प्रहरीको होइन ।”

उनका अनुसार सिंहदरबारभित्रको सडकमा पार्किङ गरिएका सवारीसाधनको व्यवस्थापन भने ट्राफिक प्रहरीले गर्छ र मन्त्रालय अगाडि पार्किङ व्यवस्थापन गर्ने काम सम्बन्धित कार्यालयका चालक र परिचालकले गर्ने उनले बताए ।

“सबै सरकारी कार्यालयमा गई ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीले भ्याउँदैन, जनशक्ति पनि पर्याप्त छैन,” गिरीले भने, “तर सिंहदरबार परिसरको सडकमा अव्यवस्थित रूपमा सवारी राखिएको पाइएमा अनुगमनका लागि जनशक्ति परिचालन गरिनेछ ।”

उनले सिंहदरबारभित्रको ट्राफिक व्यवस्थापनका लागि प्रहरी टोली खटाइएको र खटाइएका ट्राफिक प्रहरीहरूले यहाँको सडक पेटी र बाटोमा सवारीसाधन पार्किङ गर्न नदिएको बताए । “देशभरबाट उच्च पदस्थ व्यक्तिहरू सिंहदरबार आउने भएकाले उहाँहरूको सवारीसाधन व्यवस्थापनका लागि छुट्टै स्थान तोकिएको छ,” गिरीले भने, “तोकिएको स्थानमा नै सवारी राख्ने व्यवस्था गरिएको छ ।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१