
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेसम्म अहिलेको सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको दाबी गरे । उनले प्रधानमन्त्री ओलीको दम्भ, अहंकार, गलत नीति र गलत कामको कारण देश नै पूरै पीडित बनेको आरोप समेत लगाए ।
आज (विराटनगर) विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेको सरकार सबै हिसाबले असफल छ । एउटा व्यक्ति केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ ।’ उनले देशलार्य अहिलेको पीडाबाट मुक्त गर्नको लागि ओलीलाई बिदा गरिनुपर्ने मत राखे ।
तर, अहिले तत्काल सरकार परिवर्तन हुने अवस्था नभएको उनको जिकिर छ । उनले ओलीको कारण नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति भएको आरोप लगाए । उनले ओलीकै कारण सरकारको नेतृत्व गरेको दल एमालेभित्र तमासा भैरहेको टिप्पणी गरे ।