• २०८३ असार १४
  • 2026 June 28, Sunday

कम्पनी रजिष्ट्रारमा हैरान सेवाग्राही ! १५ दिन धाउँदा पनि हुँदैन काम, के भन्छन् कर्मचारी ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्ट्रार कार्यालयका केही कर्मचारीहरूलाई सरुवा गरेपछि कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ।

खुलेआम घुस लिएको आरोपमा मन्त्रालयले कम्पनी रजिष्ट्रारसहित ३२ जना कर्मचारीलाई एकै पटक अन्यत्र खटाएपछि अहिले कार्यालयका अधिकांश फाँट खाली छन् भने सेवा लिन पुगेका सेवाग्राही दिनहुँ हैरानी बेहोर्न बाध्य छन्।

घुस प्रकरणमा कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि मन्त्रीस्तरबाट छानबिन समिति गठन गरिएको थियो। त्यसकै फलस्वरूप कर्मचारी सरुवा गरिएको हो। तर, रजिस्ट्रारलगायत उच्च तहका कर्मचारीहरूबारे भने मन्त्रालयले निर्णय नगर्दा प्रशासनिक काम थप अस्तव्यस्त भएको छ।

कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सूर्य प्रसाद चापागाईंका अनुसार आर्थिक वर्षको अन्त्यदेखि सुरु भएको समस्याको मूल जड कर्मचारी सरुवा र नियुक्तिमा भएको ढिलासुस्ती हो। हाल कार्यालयमा करिब २० जना कर्मचारी तालिममा व्यस्त छन् भने केही नवनियुक्त कर्मचारी कार्यविहीन अवस्थामा माथिल्लो तलामा बसिरहेको सेवाग्राहीहरूले गुनासो गरेका छन्।

निमित्त रजिष्ट्रार देवी प्रसाद सुवेदीका अनुसार आगामी भाद्रको पहिलो सातासम्म सेवा नियमित हुने अपेक्षा गरिएको छ। हालका लागि कार्यालयमा प्राविधिक सेवा पनि प्रभावित बनेको छ।

एकातिर भ्रष्टाचार नियन्त्रण प्रयास, अर्कोतर्फ कर्मचारी अभाव — दुबैको दोहोरो मारमा अहिले कम्पनी रजिष्ट्रार कार्यालय पुगेको देखिन्छ।

हेर्नुहोस् भिडिओ :