कक्षा कोठा व्यवस्थापन न्यायोचित कसरी गर्ने ?

कक्षा कोठा व्यवस्थापन केवल शिक्षकको व्यक्तिगत शैली मात्र होइन, विद्यालयको संस्कृति, सामाजिक संरचना, शिक्षानीति, र प्रणालीगत पक्षहरुको गहिरो प्रतिबिम्ब हो। नेपालजस्तो बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधता भएको मुलुकमा कक्षाकोठामा हुने व्यवहार, अनुशासन, शिक्षकको दृष्टिकोण, र विद्यार्थीहरूप्रति गरिने व्यवहार प्रायः असमान र असन्तुलित देखिन्छ। कतिपय शिक्षकहरू आफूले अवचेतन रूपमा राखेका जातीय, भाषिक वा वर्गीय पूर्वाग्रहका आधारमा विद्यार्थीहरूलाई भिन्न व्यवहार गर्छन्, जुन व्यवहार शिक्षाको समावेशी उद्देश्य विपरित हो । यस्तो असमानताले सिकाइ वातावरणलाई कमजोर बनाउँछ, विद्यार्थीहरूको आत्मविश्वासमा क्षति पुर्‍याउँछ, र उनीहरूलाई स्कूलबाट विमुख गराउँछ। परिणामस्वरूप, कक्षा कोठा व्यवस्थापन प्रभावकारी, समावेशी र न्यायोचित नबन्दा समग्र शिक्षाको गुणस्तर घट्ने खतरा अत्यन्त गम्भीर रूपमा देखिन्छ।

शिक्षकहरूले कहिलेकाहीँ अनुशासन कायम राख्न अत्यधिक कठोर र दमनकारी उपाय अपनाउँछन्, जसले विद्यार्थीको आत्मसम्मान र मनोबलमा गम्भीर असर पार्छ। अमेरिकामा भएको अनुसन्धान र नेपालका शहरी तथा ग्रामीण विद्यालयहरूको अवलोकनले देखाउँछ कि सार्वजनिक रूपमा दण्ड दिने, लाजमर्दो बनाउने वा व्यक्तिगत रूपमा आलोचना गर्ने व्यवहारले विद्यार्थीमा विद्रोह, आत्महीनता र अस्वीकृतिको भावना उत्पन्न गर्छ। यस्तो वातावरणमा सिकाइ केवल औपचारिक प्रक्रिया मात्र बन्न पुग्छ, जहाँ डरले भरिएको सम्बन्धले ज्ञानको आदानप्रदानलाई अवरुद्ध गर्छ। शिक्षकहरूको यस्तो दृष्टिकोण परिवर्तन गर्न नीति तहबाट नै डाटा आधारित निगरानी, समावेशी तालिम, र संवेदनशील व्यवहारमा जोड दिनुपर्छ। व्यवस्थापन सुधार केवल अनुशासन कायम राख्ने विषय होइन, यसले शिक्षा प्रणालीमा व्याप्त असमानता, विभेद र अन्यायलाई पनि प्रश्न गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ।

नेपालमा कक्षा कोठा व्यवस्थापनसँग जोडिएका समस्या गहिरा सामाजिक र मनोवैज्ञानिक पाटोहरूसँग सम्बन्धित छन्, तर व्यवहारमा शिक्षकहरू अक्सर ती समस्या सतही रूपमा हेर्ने प्रवृत्तिमा देखिन्छन्। विशेषतः सतही व्यवहारप्रतिको तत्काल प्रतिक्रिया सबैभन्दा आम समस्या हो। जब दुई वा बढी विद्यार्थीहरू कक्षामा कुराकानी गर्छन्, शिक्षकले सामान्यतः समान कारबाही गर्छन्—जस्तै चेतावनी, कक्षा बाहिर निकाल्ने, वा अभिभावक बोलाउने। तर यदि शिक्षकले त्यस्तो व्यवहारको जड नबुझ्ने हो भने सतही प्रतिक्रिया सोचविहीन निर्णय मात्र हुन्छ । एक विद्यार्थी घरको पारिवारिक तनाव, भावनात्मक असन्तुलन, वा सामाजिक पीडाबाट गुज्रिरहेको हुन सक्छ, जबकि अर्का विद्यार्थी केवल अरूको ध्यान खिच्न खोजिरहेको हुन सक्छ। यस्तो विविध पृष्ठभूमि बुझ्न नसकेर एउटै उपाय सबैलाई लागू गर्नु शिक्षण दृष्टिकोणको कमजोरी हो, जसले दीर्घकालीन रूपमा विद्यार्थीसँगको सम्बन्ध, सिकाइ प्रभाव, र कक्षा वातावरणलाई क्षति पुर्याउँछ।

अर्को चुनौती भनेको अनुशासनसम्बन्धी व्यवहार र शैक्षिक कठिनाईबीचको सम्बन्धलाई बुझ्न असफल हुनु हो। धेरै शिक्षकहरू विद्यार्थीले गृहकार्य नगर्नु, ध्यान नदिनु, वा सरसफाइमा लापरबाही गर्नुजस्ता व्यवहारलाई केवल अनुशासनको समस्याका रूपमा लिन्छन्। तर यस्ता व्यवहारमाथि गरिएको मनोवैज्ञानिक अनुसन्धानले यस्ता लक्षणहरू अक्सर गहिरो शैक्षिक समस्याको संकेत हुन सक्छन् भन्ने देखाउँछ । विद्यार्थीले विषयवस्तु नबुझ्नु, सिकाइको शैली आफू अनुकूल नहुनु, वा आफूलाई अपहेलित महसुस गर्नुले पनि यस्तो व्यवहार उत्पन्न गराउँछ। शिक्षकले यदि यस्ता संकेतहरूलाई ध्यानपूर्वक विश्लेषण गरेर शिक्षण पद्धतिमा सुधार ल्याए—जस्तै बुझ्न गाह्रो भएका कुराहरूलाई सहज भाषामा प्रस्तुत गर्नु, पाठको उद्देश्य स्पष्ट गर्नु, र विद्यार्थीको भावनात्मक अवस्था बुझ्ने प्रयास गर्नु—भने कक्षा कोठा व्यवस्थापन केवल अनुशासनको कुरा नभई समग्र शिक्षाको गुणस्तर अभिवृद्धिको पाटो बन्न सक्छ।

नेपालको कक्षा कोठा व्यवस्थापनमा देखिने अर्को महत्वपूर्ण समस्या हो—स-साना गल्तीहरूलाई अत्यधिक गम्भीर रूपमा लिने प्रवृत्ति। विद्यार्थीहरूले कहिलेकाहीँ बोल्नु, कुर्सीबाट उठ्नु, वा स्वाभाविक प्रतिक्रिया देखाउनु सामान्य व्यवहार हुन्, तर यी व्यवहारलाई शिक्षकले अनुशासनको उल्लंघनका रूपमा लिएर तर्क, झर्को, वा कारबाही गर्ने अवस्था देखिन्छ। यस्तो व्यवहारले कक्षा कोठामा तनाव, डर, र असहजताको वातावरण सिर्जना गर्छ। विद्यार्थीहरू आफ्नो स्वतन्त्रता गुमाउँछन्, त्रसित महसुस गर्छन्, र सिकाइप्रतिको जिज्ञासा हराउने सम्भावना बढ्छ। यसको सट्टा, शिक्षकले यस्ता सामान्य व्यवहारलाई लचिलो ढंगले व्यवस्थापन गर्दै सकारात्मक व्यवहारलाई पहिचान र प्रशंसा गर्नुपर्छ, जसले विद्यार्थीको आत्मविश्वास बढाउँछ र सकारात्मक अनुशासनको संस्कार विकास हुन्छ।

त्यस्तै, नेपालका धेरै विद्यालयहरूमा अझै पनि दण्डात्मक शारीरिक तथा मनोवैज्ञानिक उपायहरूको प्रयोग जारी छ—जसमा कुट्ने, पिट्ने, हप्काउने, “टाइम-आउट”, कुनामा उभ्याउने, वा कक्षाबाट बाहिर निकाल्नेजस्ता कार्यहरू समावेश छन्। यस्तो व्यवहार शिक्षाको उद्देश्यभन्दा बाहिर जान्छ र विद्यार्थीलाई अपमानित बनाउँछ, जसको दीर्घकालीन असर आत्मसम्मानमा पर्न सक्छ। यस्ता उपायले विद्यार्थीसँगको सम्बन्ध टुटाउने खतरा हुन्छ र उनीहरूलाई विद्यालय र शिक्षप्रतिको वितृष्णा हुन सक्छ। यसको विकल्पका रूपमा, “शान्तिको कुनो” जस्ता नविन अभ्यासहरू प्रभावकारी हुन्छन्, जसले विद्यार्थीलाई आफ्ना व्यवहारमाथि पुनर्विचार गर्ने, आफूलाई नियन्त्रित गर्ने र शान्त रहन सिकाउने अवसर दिन्छ। यस्तो व्यवस्थापनले अनुशासन र भावनात्मक शिक्षा दुवैलाई सँगै अघि बढाउँछ।

नेपालको कक्षा कोठा व्यवस्थापनमा देखिने अर्को गम्भीर समस्या हो—विद्यार्थीलाई सार्वजनिक रूपमा लाजमर्दो बनाउने रणनीति अपनाउनु। जस्तै, कम अंक ल्याउने विद्यार्थीको नाम बोर्डमा लेख्ने, रातो वा हरियो स्टिकर टाँस्ने, वा सबैको सामु अंकको तुलना गर्ने अभ्यासले विद्यार्थीको आत्मसम्मानमा गहिरो चोट पुर्‍याउँछ। यस्ता अभ्यासहरूले उनीहरूलाई अपमानित, अलग्गिएको र असुरक्षित महसुस गराउँछ, जसको दीर्घकालीन असर उनीहरूको मानसिक स्वास्थ्य र सिकाइमा पर्न सक्छ। शिक्षकले सुधारको उद्देश्यले अपनाइने उपायलाई विद्यार्थीको मर्यादा र आत्मगौरवलाई ध्यानमा राखेर प्रयोग गर्नुपर्छ। व्यक्तिगत रुपमा कुराकानी, सहयोगी प्रतिक्रिया, र सहकार्यमा आधारित समाधान प्रक्रियाले सकारात्मक परिवर्तन ल्याउन सक्छ।

अर्कोतर्फ, शिक्षकहरूले कक्षा कोठामा आज्ञापालनको संस्कृति विकास गर्न खोज्दा सिकाइ वातावरण नियन्त्रण र डरमा आधारित बन्न सक्छ। केवल निर्देशन दिने, आदेश पालना गराउने वा गल्तीमा डर देखाउने अभ्यासले विद्यार्थीलाई स्वतन्त्र सोच्न, जिज्ञासा गर्न र सहयोगी बन्ने अवसरबाट वञ्चित गर्छ। सहमतिमा आधारित नियम निर्माण, सकारात्मक अभिवादन, र विश्वासमा आधारित संवादले कक्षामा आत्मीयता र स्वाभाविक अनुशासन विकास गर्छ। अझै, नेपालजस्तो सामाजिक विविधता भएको मुलुकमा शिक्षण प्रक्रियामा जात, वर्ग र भाषिक पूर्वाग्रहहरूको प्रभाव देखिनु गम्भीर समस्या हो। शिक्षकले कुनै समूहलाई कमजोरीको दृष्टिले हेर्नु निष्पक्ष शिक्षाको मूलमन्त्रसँग बाझिन जान्छ । यस्तो पूर्वाग्रही व्यवहारले शिक्षा प्रणालीप्रति विद्यार्थीको विश्वास घटाउँछ र सामाजिक अन्याय झन् बलियो बनाउँछ।

नेपालको बहुभाषिक, बहुजातीय सन्दर्भमा कक्षा कोठा व्यवस्थापनले केवल शैक्षिक अनुशासनको प्रश्न होइन, सांस्कृतिक समझदारी र सामाजिक न्यायको अभ्यास पनि हो। शिक्षकहरूले सबै विद्यार्थीलाई एउटै मापदण्डमा राखेर मूल्याङ्कन गर्न खोज्दा उनीहरूको सांस्कृतिक विविधता, मातृभाषा र पारिवारिक सन्दर्भ बेवास्ता हुन्छ। यस्तो बेवास्ताले विद्यार्थीको सिकाइ प्रक्रिया कमजोर बनाउँछ र उनीहरूलाई ‘अयोग्य’ को रूपमा लेबल गरिन्छ। शिक्षकले प्रत्येक विद्यार्थीको पृष्ठभूमि बुझेर, उनीहरूको भाषा र सामाजिक सन्दर्भअनुसार शिक्षण शैली अनुकूल बनाउँदा मात्र समावेशी, प्रभावकारी र न्यायोचित कक्षा व्यवस्थापन सम्भव हुन्छ। यसका लागि विद्यालयहरूले बहुसांस्कृतिक शिक्षा, मातृभाषाको सम्मान, र अन्तर-सांस्कृतिक संवादको अभ्यास गर्नुपर्छ।

त्यस्तै, अनुशासन कायम राख्ने सन्दर्भमा शिक्षकहरूले केवल व्यवहारिक लक्षण होइन, त्यसका पछाडिका मानसिक, भावनात्मक र सामाजिक कारणहरू बुझ्न सक्नुपर्छ। हिंसात्मक पारिवारिक परिवेश, आर्थिक अभाव वा सामाजिक तिरस्कारबाट गुज्रिरहेका विद्यार्थीहरूले कक्षामा ध्यान दिन नसक्नु वा अजीब व्यवहार गर्नु अस्वाभाविक होइन। शिक्षकले यस्ता विद्यार्थीलाई दण्ड दिने होइन, समझदारी र सहानुभूतिको दृष्टिकोणबाट सम्बोधन गर्नुपर्छ। त्यसका लागि शिक्षक प्रशिक्षण कार्यक्रमहरूमा समावेशी व्यवहार व्यवस्थापन, सामाजिक न्याय, र पूर्वाग्रह चिर्ने अभ्यास अनिवार्य रूपमा समावेश हुनुपर्छ। साथै, विद्यालयमा सामाजिक न्यायसम्बन्धी समिति, विद्यार्थी आवाजका फोरमहरू, र अभिभावक सहभागिता सुनिश्चित गर्न सके शिक्षालाई अझ सुरक्षित, न्यायोचित र सशक्त बनाउन सकिन्छ।

नेपालमा कक्षा कोठा व्यवस्थापनको समस्यालाई केवल अनुशासनको विषय भनेर सीमित गर्नु गम्भीर भूल हुनेछ। विद्यालयहरूले अनुशासन सम्बन्धी नीतिहरू बनाउँदा ‘डेटा इक्विटी’ दृष्टिकोण अनिवार्य रूपमा अपनाउनुपर्छ— जस्तै कुन समुदाय वा पृष्ठभूमिका विद्यार्थी बढी कारबाहीमा परेका छन्, चेतावनी वा संवादको अवसर पाएका थिए वा थिएनन्, र यस्तो कारबाहीले सकारात्मक असर पारेको छ कि छैन। यस्ता तथ्यगत विश्लेषण बिना बनाइने नीतिहरूले असमानता बढाउन सक्छन्। साथै, शिक्षकहरूले पनि आफ्ना व्यवहार र निर्णयहरू प्रति आत्ममूल्याङ्कन गर्नुपर्छ—”के मैले सबैलाई समान व्यवहार गरें?” वा “कसैप्रति पूर्वाग्रह राखें?” भन्ने जस्ता प्रश्नले व्यवहार सुधारको दिशा दिन्छ। यसरी जब शिक्षक व्यक्तिगत स्तरमा सचेत हुन्छन् र विद्यालय संस्थागत स्तरमा उत्तरदायी बन्छ, तब मात्र व्यवहार व्यवस्थापन सन्तुलित र प्रभावकारी बन्छ।

निष्कर्षमा भन्नु पर्दा कक्षा व्यवस्थापन केवल शिक्षकको व्यक्तिगत चुनौती होइन, यो सम्पूर्ण विद्यालय समुदायको साझा उत्तरदायित्व हो। शिक्षक, विद्यालय प्रशासन, नीति निर्माताहरू, अभिभावक र समुदायबीच संवाद र सहकार्य आवश्यक छ। जब सम्पूर्ण शिक्षा प्रणाली समावेशी, न्यायोचित र गरिमायुक्त हुन्छ, तब मात्रै कक्षा कोठामा सहकार्य, शान्ति र सिकाइको वातावरण सुनिश्चित हुन्छ। नेपालजस्तो सामाजिक विविधता भएको देशमा कक्षा व्यवस्थापनमा देखिने असमानता र कठिनाइ केवल शिक्षकको कमजोरी नभई सामाजिक संरचना, प्रणालीगत विभेद, र नीतिगत अस्पष्टताको उपज हो। त्यसैले सुधारको थालनी शिक्षकको आत्मचिन्तन, तथ्यमा आधारित नीति निर्माण, र सामूहिक प्रतिबद्धता मार्फत हुनुपर्छ।

– लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१