एकीकृत समाजवादी पार्टी बन्छ भन्नेमा विश्वास छैन झलनाथ खनाललाईः शेरबहादुर कुँबर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँबरले सम्मानित नेता झलनाथ खनाललाई पार्टी बन्छ भन्ने कुरामा विश्वास नै नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

सम्मानित नेता खनालले पार्टीका कार्यकर्ताहरु निरुन्साहित हुनेगरी उल्टासुल्टा बोल्दै हिँडेको नेता कुँबरले बताए । झलनाथको नेतृत्वमा पार्टी बन्छ भन्ने कुरा आफूहरुलाई विश्वास नरहेको उनले बताए ।

‘जो व्यक्तिहरु पार्टीप्रति विश्वास छैन, पार्टी निर्माणप्रति विश्वास छैन, पार्टी बन्छ भन्ने कुराप्रति विश्वास छैन । अब ती व्यक्तिहरुले हाँकेर पार्टी बन्ने जो व्यक्तिहरु रातोदिन आम जनताको बीचमा पुगिरहेको छ । देशव्यापी रुपमा आफ्नो उमेरलाई ख्याल नगरेर माधव नेपाल कुदिरहनुभएको छ । उहाँबाट पार्टी नचल्ने रे ?’ प्रश्न गर्दै उनले भने ।

नेता कुँबरले एकीकृत समाजवादी बन्दाखेरी आफूहरुले माधव नेपाल, झलनाथ खनाललगायतको अनुहार हेरेर नै यतापट्टी लागेको बताए । यतिबेला पार्टीमा थपिएका चुनौति सामना गर्नुको सट्टामा अध्यक्ष नेपाल र सम्मानित नेता खनालको आरोप–प्रत्यारोपले आम कार्यकर्ताहरुलाई निराश बनाएको उनले बताए ।

‘हामीमाथि आइपर्ने चुनौतिहरुलाई सामना गर्दै अगाडि बढ्नुपर्नेमा पाका नेताहरु, त्यत्रो लामो समयसम्म पार्टीको नेतृत्व गरेका व्यक्तिहरुले ती समस्या र चुनौतिहरुलाई सामना गर्नुको सट्टा आम कार्यकर्ता निराश हुनेगरी जुनखालका अभिव्यक्तिहरु आएका छन्, वास्तवमा यो अभिव्यक्ति राम्रो होइन । यो अभिव्यक्ति खेदजन्य हो । यस्तो अभिव्यक्तिबाट हामी कार्यकर्ता चिन्तित छौं,’– उनले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१