• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

महिलाको योगदानबिना प्रगति सम्भव थिएन : परराष्ट्र मन्त्री देउवा

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाको आफ्नै संघर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छन्।

नेपाल महिला संघद्वारा आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। डा. देउवाले भनिन्, “महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन्। महिलाले महत्त्वपूर्ण संवैधानिक अधिकार पनि प्राप्त गरेका छन्। त्यो सबै नेपाली महिलाले गरेको संघर्षकै उपलब्धि हो।”

नेपाली काँग्रेसकै महिला नेतृहरू मंगलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मको योगदानको स्मरण गर्दै मन्त्री डा. देउवाले महिला नेतृहरूको लामो संघर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट गरिन्।

उनले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्ति सम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रहेको स्मरण गरिन्।वर्तमान संविधानले नेपालको संघीय तथा प्रदेश संसदमा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता सकारात्मक भन्दै उनले यसको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यवहारिक बनाउन महिलाले नै संघर्ष गर्नुपर्ने स्पष्ट गरिन्।

उनले भनिन् “हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ। महिलालाई राजनीतिमा सजिलो छैन। त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीलाई जागरूक पार्‍यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्‍यौँ।”नेपालमा मात्र नभएर विश्वका अरु देशमा पनि महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृले सुनाउने गरेको उनले उल्लेख गरिन् ।