अख्तियारले सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी साक्षीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ। घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएका डम्मरबहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बकपत्र दिएपछि आयोगले अनुसन्धान गर्दा उनी आफैँ भ्रष्टाचारमा संलग्न भएको खुलेको हो।

बाँकेको कोहलपुर नगरपालिका निवासी बुढाथोकीलाई खरिदार रतन बहादुर जिसीसमेत प्रतिवादी रहेको घुस तथा रिसवतसम्बन्धी मुद्दामा सरकारी साक्षी बनाइएको थियो। तर, उनले २०८२ साल असार २६ गते विशेष अदालतमा उपस्थित भई अनुसन्धान अधिकृत समक्ष गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर ठहरिएको छ। आयोगले बुढाथोकीविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३० ले निर्देश गरेबमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।

साथै, घुस र रिसवतबापत दिएको रकम सोही ऐनको दफा ३ को उपदफा (१) तथा सोही ऐनको (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा १ (क)  बमोजिम जफत हुन पनि माग गरिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१