
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा मेरिटोक्रेसीका आधारमा नियुक्ति प्रक्रिया सुरु गरे पनि काँग्रेस, एमाले सरकारले उल्ट्याएको बताएका छन् ।
अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले विश्वविद्यालयमा कायम रहेको भागबन्डा आफूले अन्त्य गरेको दाबी गरेका हुन् । ‘विश्वविद्यालयमा राजनीतिक भागबन्डा गर्ने, आफ्ना कार्यकर्ता भर्ती गर्ने अत्यन्त गलत परम्परा तोडेर मेरिटोक्रेसी मैले स्थापित गरेको हो ।
यो धेरै ठूलो परिवर्तन हो,’ उनले भने, ‘प्रतिस्पर्धाबाट सबभन्दा योग्य भिसी, रजिस्ट्रार बनाउँदा शिक्षा क्षेत्रमा भएका विसंगति अन्त्य गर्न सकिन्छ भनेर गरेको हो । अहिले सरकार फेरियो फेरि पुरानै ठाउँमा गएर फेरि कर्मचारी भर्तीकेन्द्र बनाइएको छ ।’