
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नरहेको बताएका छन् ।
आज (बिहीबार) अखिल (क्रान्तिकारी) ले आयोजना गरेको शैक्षिक संवादका कार्यक्रममा प्रचण्डले राज्य व्यवस्था समितिका सभापतिबाट राजीनामा दिएर राजनीति सुरक्षित गर्न खतिवडालाई सुझाव दिएका हुन् ।
सङ्घीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीबारे बोल्दै प्रचण्डले भने, ‘राजीनामा दिएर राजनीति सुरक्षित गर्न सक्नुहुन्छ । ’साथै, अध्यक्ष प्रचण्डले शिक्षा विधेयक संसद्मा पुग्न एमाले र कांग्रेसकै कारण ढिला भएको बताए । उनले निजी शिक्षालाई बिस्तारै नियन्त्रण गर्दै राज्यले शिक्षामा सबैलाई समान अवसर प्रदान गर्ने नीति बनाउनुपर्नेमा जोड दिए ।