MIT कलेजको विदेशी सम्बन्धनको भ्रम: विद्यार्थीहरू ठगीको शिकार

पछिल्लो समय नेपालको शिक्षा क्षेत्रमा विदेशी विश्वविद्यालयसँगको साझेदारी, सम्बन्धन तथा विदेशी डिग्री देखाएर धन्दा गर्ने परिपाटी फस्टाउँदै गएको छ । विदेशी सम्बन्धन तथा डिग्री देखाएर नेपालमा ठगी धन्दा गर्नेमा नेपालमा नाम चलेका कलेजहरू नै अग्रपङ्तीमा देखिएका छन् ।

जसमध्येको एक हो, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी, (एमआईटी) । कलेजले आफ्नो वेबसाइटमै आफूलाई ‘वेस्ट फरेन अफिलिएटेड कलेज इन काठमाडौँ’ (काठमाडौँको सर्वोत्कृष्ट विदेशी सम्बन्धन प्राप्त कलेज) भनेर चिनाएको छ । कलेजले त्यसपछि भनेको छ- ‘स्टडी इन नेपाल ग्र्याजुएट फ्रम युएसए’ (नेपालमा पढ्नुहोस्, अमेरिकी डिग्री हासिल गर्नुहोस् ) । आफ्नो कलेज पढ्ने विद्यार्थीले पाउने सुविधाहरूमा लेखेको छ- ‘सिमलेस क्रेडिट ट्रान्सफर’ (निर्बाध क्रेडिट ट्रान्सफर) ।

कलेजले आफ्नो प्रचारका लागि लेखेको यी ‘स्मार्ट’ लाइनहरूबाट त्यस्तै प्रकारका कलेज खोज्दै हिँडेका हर कोही विद्यार्थी र अभिभावक प्रभावित हुन सक्छन् । त्यसै पनि पछिल्लो समय नेपालमा प्लस टु, ब्याचलर वा मास्टर पढेर विदेश जाने लहर नै चलेको छ । नेपालकै कलेजबाट विदेशको ड्रिगी पाउँदा त्यसले विदेश जाँदा भिसामा तुलनात्मक रूपमा प्राथमिकतामा परिने तथा उता गइसकेपछि पनि काम पाउन सहज हुने मनोविज्ञान विद्यार्थीहरूमा देखिन्छ ।

सोही कारण केही बढी खर्च गरेर भए पनि विदेशी सम्बन्धन प्राप्त र विदेशी डिग्री दिने कलेजमा पढ्ने आफ्ना सन्तानको चाहनामा अभिभावकले समेत साथ दिँदै आएका छन् । यो कुरा राम्रोसँग बुझेका कलेजहरूले विद्यार्थी र अभिभावकको सोही मनोविज्ञानमा खेलेका छन् । जसको उदाहरण हो- Model Institute of Technology (MIT) ।

हुलाक सञ्चारको सम्पर्कमा आएका विद्यार्थीले आफूहरूलाई काठमाडौँको बागबजारमा रहेको Model Institute of Technology कलेजले कसरी विदेशी डिग्रीको नाममा झुक्याएको र भविष्य बिगारिदिएको भनेर सुनाएका छन् । आफ्नो परिचय नखुलाउने सर्तमा उनीहरूले कलेजको अमेरिकी डिग्रीको प्रलोभनमा पर्दा आफूहरू कसरी ठगीको शिकार हुन पुगेको भनेर हुलाक सञ्चारलाई सुनाएका छन् ।

उनीहरूको भनाइ जस्ताको त्यस्तै:

रमेश, सिन्धुपाल्चोक (नाम परिवर्तन) — क्रेडिट ट्रान्सफरमा अवरोध

“मैले MIT कलेजमा ब्याचलर पढ्न सुरु गरे । कलेजको प्रचारमा देखाइएको ‘नेपालमै बसेर अमेरिकी डिग्री’ र ‘अन्तर्राष्ट्रिय मान्यता’ ले म पनि प्रभावित भएँ । नेपालमै विदेशी डिग्री र क्रेडिट ट्रान्सफरको समेत सुविधा हुँदा त्यहाँ नपढ्नु पर्ने कुनै कारण नै थिएन । तर कलेजको फि भने अलि महँगो थियो । तर पनि अन्य कलेजभन्दा राम्रो लागेर बुवासँग त्यहीँ पढ्ने कर गरेँ । पढाइ सुरु गर्दा झन्डै १२ लाख रुपैयाँमा फि लाग्ने सहमति भयो । बुवाले एक जना आफन्तसँग ऋण काढेर मेरो भर्नाका लागि आवश्यक रकम जोहो गरिदिनु भयो । म पनि अहिले केही ऋण लागे पनि पछि कमाएर तिरिहाल्छु नि भन्ने सोचले ढुक्क थिएँ ।

ब्याचलर पढ्दा देखिकै योजना अनुरूप मैले पढाइ पुरा गरेपछि अमेरिकामा मास्टर्समा भर्ना हुन आवेदन दिएँ । तर धेरै विश्वविद्यालयले मेरो क्रेडिट अस्वीकार गरे। कारण —हाम्रो कलेजको अमेरिकी साझेदार International American University (IAU) क्षेत्रीय मान्यता प्राप्त संस्था होइन र धेरै प्रतिष्ठित विश्वविद्यालयले यस्ता संस्थाबाटको क्रेडिट लिनै मान्दैनन्। मैले यसबारे कलेज प्रशासनमा समेत बताएँ, तर प्रशासन टालटुल जवाफ दिएर पन्छिरह्यो । मेरो योजना ध्वस्त भयो, ऋणको ब्याज झन् बढ्यो । डिग्री हातमा त छ तर पनि करियरको बाटो बन्द छ।”

सरिता, दोलखा (नाम परिवर्तन) — भिसा अन्तर्वार्तामा अस्वीकृति

“मैले १२ मा पढ्दादेखि नै ब्याचलर चाहिँ काठमाडौँ गएर पढ्ने सोच बनाएकी थिएँ । काठमाडौँमै बसेर आईटी पढिरहनु भएकी मेरो ठुलोबुवाको छोरीले नै काठमाडौँमा पढ्न प्रोत्साहन गर्नुभएको थियो । १२ को परीक्षा दिएसँगै मैले काठमाडौँमा भएका कलेजहरूबारे सामाजिक सञ्जालहरूमार्फत खोज्न थालेँ । सोही क्रममा मेरो नजर, काठमाडौँको बागबजारमा रहेको एमआईटी कलेजमा गएर अडियो । सामाजिक सञ्जालमा एमआईटीले जसरी आफ्ना बारेमा लेखेको थियो, त्यो देखेर आफूलाई ढुङ्गा खोज्दा देउतै भेटेजस्तो भयो । सबैभन्दा धेरै मलाई एमाईटीको “घरमै बसेर अमेरिकी डिग्री” भन्ने स्लोगनले इम्प्रेस गर्‍यो। मैले अमेरिकाको एमाईटी युनिभर्सिटीका बारेमा केही केही सुनेकी थिएँ । त्यो युनिभर्सिटी निकै खतरा हो रे भन्ने मैले सुनेकी थिएँ । काठमाडौँमा रहेको एमआईटी कलेजको नाम र सो युनिभर्सिटीको नाम एउटै थियो । फेरि नेपालबाटै अमेरिकी डिग्री भन्ने स्लोगन पनि दिइएको हुनाले यो कलेज त्यही युनिभर्सिटीको एफिलिएसन पो हो कि जस्तो लाग्यो । सामाजिक सञ्जाल र वेबसाइटमा हेर्दा सबै कुरा राम्रो लागेपछि मैले काठमाडौँ गएर त्यही कलेज पढ्ने मनस्थिति बनाएँ ।

१२ को रिजल्ट आएपछि म कलेज पुगेँ । सुरुबाटै इम्प्रेस म त्यहाँ काउन्सलिङमा बस्नु भएका सरहरूको कुराले थप इम्प्रेस भएँ । करिब १३ लाख रुपैयाँ तिर्ने गरी फि टुङ्गियो । त्यसमा एक्जाम फि लगायतका अरू फि भने समावेश थिएन । ती शीर्षकमा अर्को केही लाख खर्च भयो। समय बित्यो, पढाई पुरा भयो । त्यसपछि मास्टर्सका लागि अमेरिका जाने निधो गरेर विद्यार्थी भिसाको आवेदन दिएँ र अन्तर्वार्ताको पालो पर्खेँ । केही महिनापछि अन्तर्वार्ताको पालो आयो । भिसा अफिसरले अरू कुरा सोधेपछि कलेजको नाम सुनेर सोधे, “यो युनिभर्सिटीको मान्यता के हो? क्षेत्रीय मान्यता छ?” । मैले जवाफमा ‘छ’ भनेँ । तर भिसा अफिसरले पत्याएनन् र भिसा रिजेक्ट गरिदिए। सारै नरमाइलो लाग्यो । जेन्युन कारण बिना रिजेक्ट भएकोमा । त्यो दिन त केही गर्न मन लागेन । भोलिपल्ट इन्टरनेट सर्च गरेर हेर्दा पो थाहा पाएँ कि IAU क्षेत्रीय मान्यता नभएको संस्था रहेछ । त्यसलाई धेरै अमेरिकी अफिसर, प्रोफेसर र युनिभर्सिटीले गम्भीर रूपमा लिँदैनन्। यसरी म ठगिएँ ।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१