• २०८३ असार २८
  • 2026 July 12, Sunday

थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको नेपालसंग सहमति

भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदको स्वीकृति दिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पाँच जलविद्युत आयोजना — लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोला —बाट उत्पादित बिजुली भारत निर्यात हुनेछ।

यसअघि ८१०.९ मेगावाटसम्म निर्यात अनुमति पाएको नेपाल अब भारततर्फ १,०११ मेगावाट बिजुली पठाउन सक्नेछ। साथै, बंगलादेशमा भइरहेको ४० मेगावाट आपूर्ति समेत जोड्दा नेपालको कुल निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ।

नयाँ स्वीकृत २०० मेगावाटको निर्यात अनुमति आगामी ३१ अक्टोबरसम्म लागू रहनेछ। गत आर्थिक वर्ष ०८१/८२ मा विद्युत निर्यातबाट १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको नेपालले यस वर्ष अनुमति विस्तारका कारण निर्यात आय दोब्बर हुने अनुमान गरेको छ।