काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
कान्सास सिटीस्थित एरोहेड रङ्गशालामा आइतबार बिहान सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयको अधिकांश समय १-१ को बराबरीमा रहेको खेलमा अर्जेन्टिनाले अन्तिम क्षणमा दुई गोल गर्दै जित निकालेको हो ।
अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले पनि अतिरिक्त समयमा नर्वेलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो । लियोनेल मेसीको कर्नर प्रहारमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । यो विश्वकपमा मेस्सीको करिअरको १०औँ गोल अवसर सिर्जना थियो । तर त्यसपछि अर्जेन्टिनाले थप गोल गर्न सकेन। स्विट्जरल्यान्डले लगातार दबाब सिर्जना गर्दै खेलमा फर्कियो र दोस्रो हाफमा डान एनडोयेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
बराबरी गोलपछि स्विट्जरल्यान्डलाई ठूलो धक्का लाग्यो । भिडियो समीक्षा पछि ब्रिल एम्बोलोलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइयो । दोस्रो पहेँलो कार्ड रातो कार्डमा परिणत भएपछि स्विट्जरल्यान्ड बाँकी खेल १० खेलाडीमा सीमित भएको थियो । खेल अतिरिक्त समयमा पुगेपछि अर्जेन्टिनाले लगातार आक्रमण जारी राख्यो ।
अन्ततः ११२औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३-१ को जित सुनिश्चित गरे । मेसीले गोल गर्न नसके पनि पहिलो गोलका लागि अवसर सिर्जना गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए । यो जितसँगै अर्जेन्टिना लगातार कठिन चुनौती पार गर्दै विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
यसअघि पनि अर्जेन्टिनाले अतिरिक्त समयमा केप भर्डेलाई पराजित गरेको थियो भने अन्तिम १६ मा इजिप्टविरुद्ध २-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।