• २०८३ असार २८
  • 2026 July 12, Sunday

त्रिभुवन विमानस्थलमा विदेश जाने यात्रुहरु कम्तीमा १ घन्टा अगाडि पुग्नुपर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुहरूले अब कम्तीमा एक घन्टा अगाडि पुग्नु पर्ने व्यवस्था गरिएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार अन्तिम समयमा चाप बढ्दा कागजात जाँचका लागि पर्याप्त समय नपुग्ने भएकाले यो नियम लागू गरिएको हो।

विशेष गरी रातिको समयमा खाडी मुलुकका लागि उडान हुने यात्रुमा समस्या बढी देखिएपछि जाँच प्रक्रियामा कडाइ गरिएको उनले बताए। विमानस्थलमा उपस्थित सबै एयरलाइन्स कम्पनी र सरोकारवाला निकायसँग छलफल गरेर यो निर्णय लिइएको हो।

यात्रुको चाप बढेकाले नागरिक उड्डयन प्राधिकरणलाई उडान तालिकामा लचिलोपन अपनाउन पनि आग्रह गरिएको छ। यसैबीच, विमानस्थल अध्यागमनमा कर्मचारी मिलेमतोमा गिरोहले नेपाली युवाबाट असुली गर्ने घटनामा अख्तियारले छानबिन गरिरहेको छ। तत्कालीन विमानस्थल प्रमुख सहसचिव पक्राउ परेपछि नयाँ नेतृत्व नियुक्त गरिएको थियो। यद्यपि, भिजिट भिसा असुलीको क्रम रोकिएको छैन, जसका लागि गृह मन्त्रालयले अध्यागमन प्रमुख नरहरि घिमिरे र महानिर्देशक तिवारीलाई जिम्मेवारीमा पठाएको छ।