• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

टप एण्ड सिरिज: नेपालका लागी हारको ह्याट्रिक, तेस्रो खेलमा पनि पराजित

  • २०८२ भदौ २, सोमबार १०:५३

डार्विन । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो निराशाजनक प्रदर्शनलाई निरन्तरता दिँदै लगातार तेस्रो हार बेहोरेको छ। आइतबार भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले पराजित हुँदै प्रतियोगितामा हारको ह्याट्रिक व्यहोर्न बाध्य भयो।

मेलबर्नले प्रस्तुत गरेको १७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। नेपालका लागि ओपनर आसिफ शेखले ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। कप्तान रोहित पौडेलले ३३ तथा कुशल भुर्तेलले आक्रामक २५ रन जोडेका थिए।

यसअघि, नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए। तर, मेलबर्नका ब्याट्सम्यान थोमस रोजर्सको ६५ र ब्लेक म्याकडोनाल्ड ७४ को अर्धशतकीय पारीले उनीहरूको स्कोर १७५ रनमा पुगेको थियो।

यो हारसँगै नेपालले प्रतियोगितामा जितको खाता खोल्न सकेको छैन। यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग पराजित भएको थियो।

  • २०८२ भदौ २, सोमबार १०:५३