संगीतकार तथा कवि नन्दनको निधन

चितवन । कवि तथा संगीतकार प्रेम विनोद नन्दनको आइतवार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिए । विसं २०११ मा ‘झटारो’ गितीसङ्ग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दन गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन् ।

उनका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् । उनका गिती सङ्ग्रह अञ्जली २०२३, सपनीबाट ब्यूझेर २०२३, बिपनीका पाइलाहरू २०५२, ऐनाभित्रको आकाश २०६३,  सिद्धार्थको ग्रह त्याग लघु काव्य २०७४ र पत्रम पुष्पम कविता सङ्ग्रह २०७७ प्रकाशित भएका छन् ।

यस्तै राष्ट्रिय गान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो  । प्रधानका अनुसार उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पादन गरेका थिए । अनौपचारिक शिक्षा आर्जन गरेर गीत संगित र साहित्यमा लागेका नन्दन गायक, संगीतकार तथा कलाकार पनि थिए ।

विसं १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मेका नन्दनपछि बसाइँ सरेर चितवनको नारायणगढ आएको हुन् । उनी  छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् । उनलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो ।

उनको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१