• २०८३ असार २८
  • 2026 July 12, Sunday

आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याएर स्थिर सरकार बनाउने देउवाको चाहना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आगामी निर्वाचनमा एकल बहुमत सुनिश्चित गर्दै कांग्रेस नेतृत्वमा स्थिर सरकार गठन गर्ने लक्ष्यसहित अघि बढ्न आह्वान गरेका छन्।

शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रममा बोल्दै उनले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने भ्रामक धारणा फैलाइँदै समाजलाई भ्रममा पार्ने प्रयास भइरहेको टिप्पणी गरे।

देउवाले भने, “यस्ता गलत धारणा तोड्न हामी सक्रिय र सबल बन्नैपर्छ। पार्टीका शुभेच्छुक संस्थाहरूलाई अझ प्रभावकारी र गतिशील बनाएर, आन्तरिक एकता मजबुत गर्दै आगामी निर्वाचनमा बहुमत दिलाउन सबै एकजुट हुनुपर्ने बेला आएको छ।”

उनले कांग्रेस अझै पनि मुलुकको सबैभन्दा ठूलो पार्टी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबै मिलेर यसलाई अझ शक्तिशाली बनाउनुपर्ने आवश्यकता दोहोर्याए।