उपसभामुख रानाविरुद्ध काँग्रेस–एमालेको अभियान, पदमुक्त गर्न हस्ताक्षर संकलन सुरु

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दुवै दलका सांसदहरूको हस्ताक्षर संकलन सुरु भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस-एमाले नेताहरूबीच भएको बैठकमा महान्यायाधिवक्ता रमेश बडालसहितका कानुनी व्यक्तिहरू सहभागी थिए । बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको फैसलासँगै उपसभामुखलाई पदमुक्त गर्ने विषयमा पनि छलफल भएको थियो । सोही छलफलको आधारमा मंगलबारदेखि प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा उपलब्ध गराउन अमेरिकी दूतावासमा आफ्नै लेटर प्याड प्रयोग गरेर चिठ्ठी पठाएको आरोप छ । सो आरोपपछि काँग्रेस र एमालेबीच उनलाई पदमुक्त गर्ने सहमति बनेको हो ।

यसैबिच राना हाल अमेरिका भ्रमणमा रहेकी छिन् । उनी साउन ३० गते अमेरिका प्रस्थान गरेकी थिइन् । राना अमेरिकामै रहँदा नेपालमा उनलाई पदमुक्त गर्ने तयारी भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१