
नेपाली नारीहरूको महान् पर्व तीज अब परम्परा र प्रदर्शनबीचको दोहोरो मोडमा उभिएको देखिन्छ। विगतमा आत्मशुद्धि, पारिवारिक एकता र धार्मिक श्रद्धाको प्रतिकका रूपमा मनाइने तीज अहिले धेरै हदसम्म फेसन र मनोरञ्जनमा केन्द्रित बन्दै गएको छ। यसले तीजको मौलिक स्वरूपमाथि गम्भीर प्रश्न उठाउन थालेको छ।
तीजको ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि हेर्दा, यो पर्व ब्रत, उपवास, शिव–पार्वतीको आराधना र नारी सशक्तीकरणको गहिरो सन्देश बोकेर आएको देखिन्छ। बिहानैदेखि नदी किनार वा घरमै स्नान गरी, हरितालिका व्रत कथा श्रवण गर्दै शिव पूजामा संलग्न हुने परम्परा अझै केही ग्रामीण भेगमा जीवित छ।
बुहारी, दिदीबहिनीहरू सासुराली फर्कने, माइतीमा भेला हुने, जीवनका सुख–दुख गीतमार्फत पोख्ने – यी सबै तीजका गहिरा सांस्कृतिक आयाम थिए।
पछिल्ला वर्षहरूमा तीजको स्वरूपमा आएको परिवर्तनलाई कतिपयले संस्कृतिको विकासू भन्ने गरे तापनि त्यो परिवर्तन कति स्वस्थ छ भन्ने प्रश्न उठ्न थालेको छ। तीजको पूर्वसन्ध्यामा दर खाने कार्यक्रमहरू भव्य भोज र पार्टीमा परिणत भएका छन्। महँगा गहना, डिजाइनर सारी, कोरियोग्राफ गरिएको नृत्य र युट्युब सामग्री उत्पादन अब तीजको अनिवार्य अङ्गजस्तै बनेका छन्।
तीजको नाममा भइरहेको उपभोगवादले यसको आध्यात्मिकता ओझेलमा परेको छ। गीतमा शालीनता नभई विकृति बढ्दै गएको देखिन्छ। युट्युब र टिकटकले तीज गीतको बजारलाई ठूलो बनाए पनि त्यससँगै विकृति पनि भित्रिएको छ। पहिलेका तीज गीतमा समर्पण, भक्ति र नारीका पीडा हुन्थे भने अहिलेका गीतहरूमा भड्किलो लय, दोहोरी शैलीको व्यङ्ग्य र कतिपय अवस्थामा अश्लीलता हावी हुन थालेको छ।
यद्यपि पूर्ण रूपमा निराश हुने अवस्था छैन। केही युवापुस्ताले तीजको मौलिक पक्षलाई आत्मसात् गर्दै नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। परम्परा र आधुनिकताको सन्तुलन मिलाउनु आजको आवश्यकता बनेको छ।
संस्कृति परिवर्तनशील हुन्छ, तर परिवर्तनले आत्मा नखोस्नुपर्छ। तीजको आत्मा भनेको नारी सशक्तीकरण, आत्मशुद्धि र सामाजिक ऐक्य हो। तीजको वर्तमान स्वरूप हेर्दा हामी एक संकटमोचक मोडमा छौं – जहाँ परम्पराको संरक्षण र आधुनिक प्रस्तुतीकरणबीच सन्तुलन खोज्नुपर्ने अवस्था छ। यदि आज हामीले तीजलाई केवल रमाइलो र उपभोगको चाड बनायौं भने भोलीका पुस्ताले यसको मौलिकता चिन्न सक्ने छैनन्।
पर्वहरू केवल मनोरञ्जनका लागि होइनन्, तिनीहरू संस्कार र सन्देश बोकेर आउँछन्। तीजको नाममा देखिँदै गएको विकृति सचेत चेतना बिना रोक्न कठिन छ। अबको आवश्यकता हो – मौलिकता जोगाउँदै, समसामयिकता अपनाउने सन्तुलित सोच।