• २०८३ असार १५
  • 2026 June 29, Monday

अब ५ हजार डलरसम्म विदेशी मुद्रा ल्याउन पाइने

काठमाडौं । नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा भन्सार घोषणा नगरी नै नेपालमा ल्याउन सकिने व्यवस्था कायम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले हालै प्रकाशित सूचनामार्फत उक्त सीमा भित्रको नगद विदेशी मुद्रा भन्सारमा घोषणा गर्न आवश्यक नपर्ने व्यवस्था पुनः पुष्टि गरेको हो। तर, ५ हजार डलरभन्दा बढीको नगद ल्याउनुपर्ने अवस्थामा भने भन्सार घोषणा अनिवार्य गर्नुपर्ने प्रावधान रहेको छ।

त्यस्तै, राष्ट्र बैंकले सूचनामार्फत सन् २०१६ नोभेम्बर ९ भन्दा पहिले चलनमा रहेका भारतीय पाँच सय र एक हजार दरका नोटहरू नेपालमा ओसार–पसार तथा कारोबारमा निषेधित रहेको जानकारी दिएको छ। साथै, भारतीय दुई सय, पाँच सय र दुई हजार दरका हालका नोटहरू पनि नेपालमा ल्याउन र प्रयोग गर्न नपाइने व्यवस्था कायम नै रहेको छ।

राष्ट्र बैंकले थप स्पष्ट पारेको छ कि नेपाली नागरिकले भारतबाहेक अन्य कुनै मुलुकमा भारतीय रुपैयाँ लैजान नपाउने व्यवस्था यथावत रूपमा लागू छ।