• २०८३ असार १७
  • 2026 July 01, Wednesday

कात्तिक १७ गते मनाङमा पनि उपनिर्वाचन

निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

२०७९ मंसिरमा भएको प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए।

चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो। सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो।

त्यसपछि उपनिर्वाचन गर्न निर्वाचन आयोगले कात्तिक १७ को मिति तोकेको हो।

रूपन्देही प्रतिनिधि सभा क्षेत्र ३ मा पनि कात्तिक १७ मै उपनिर्वाचन मिति तोकिएको छ। यहाँबाट निर्वाचित राप्रपा सांसद दीपक बोहराको मृत्यु भएपछि यो क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको हो।