• २०८३ असार १७
  • 2026 July 01, Wednesday

सुनिता डंगोल जेनेभातर्फ प्रस्थान

  • २०८२ भदौ १६, सोमबार १३:३७

काठमाडौँ । स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रस्थान गरेकी छिन्।

‘द फोरम अफ यङ् ग्लोबल लिडर्स’ ले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि भदौ १७ गते देखि १९ (सेप्टेम्वर २-४) सम्म सम्मेलन आयोजना गरेको हो ।फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरू छन् । यसमा शिक्षा, आर्ट, कल्चर एण्ड स्पोर्टस, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व छ ।

सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरूका विच आपसी संवाद र सञ्जाल निर्माण हुनेछ । यस्तै, यङ् ग्लोबल लिडरहरूका बिचका आपसी सिकाइ र अनुभव आदान प्रदान हुनेछ । यसले विश्वका फरक क्षेत्र र परिवेशलाई बुझ्न मद्दत गर्नेछ ।

उनले भनिन्, ‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो । यसले फरक परिवेशका सम्भावनाहरू जान्ने अवसर प्रदान गर्नेछ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरू एकै ठाउँमा हुनु हो । यसले विश्वको परिवेश बुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्नेछ ।’

परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको अपेक्षित नतिजा भएको डंगोलले बताइन् । गएको वैशाखमा उपप्रमुख डंगोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी हुन् । युवाहरूलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रूपमा उनलाई चयन गरेको हो ।

यसमा दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन् । त्यसमध्ये नेपालबाट छानिनेमा डंगोल मात्र छिन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व हुनुहुन्छ। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य थिइन्।

 

  • २०८२ भदौ १६, सोमबार १३:३७