चीनका राष्ट्रप्रमुख अघि मोदीले उठाए पहलगाम आतंकवादको मुद्दा– आतंकवाद अस्वीकार्य

काठमाडाैं । प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको तियानजिनमा आयोजित एससीओ सम्मेलनमा आतंकवादलाई क्षेत्रीय सुरक्षा र मानवताको लागि ठूलो खतरा भएको बताएका छन्। उनले पहलगाममा भएको आतंकवादी हमलाको उदाहरण दिँदै भने– भारत लामो समयदेखि आतंकवादको भयानक असर भोगिरहेको छ र पहलगाम हमला मानवतामाथि गरिएको हमला हो।

बैठकलाई सम्बोधन गर्दै मोदीले भने, ‘आतंकवाद, अलगाववाद र अतिवाद जस्ता चुनौतीहरू ठूलो खतरा हुन्। आतंकवाद सम्पूर्ण मानवताको साझा चुनौती हो। कुनै पनि देश वा समाज आफैँलाई यसबाट सुरक्षित ठान्न सक्दैन। त्यसैले आतंकवादविरुद्ध लड्न भारतले एकजुटता कायम गरेको छ। यसमा एससीओको पनि ठूलो भूमिका छ।’

प्रधानमन्त्री मोदीले आतंकवादविरुद्ध दृढ र स्पष्ट दृष्टिकोण अपनाउनुपर्ने र कुनै पनि दोहोरो मापदण्ड अस्वीकार गर्नुपर्ने बताए। उनले भने, ‘आतंकवादका सबै रूपसँग लड्नु केवल जिम्मेवारी होइन, मानवताको प्रति हाम्रो नैतिक कर्तव्य हो। पहलगाम हमला मानवतामा विश्वास राख्ने प्रत्येक देश र व्यक्तिलाई खुला चुनौती हो।’

गएकाे अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली पर्यटक सुदीप न्यौपानेसहित २६ जनाकाे ज्यान गएकाे थियाे। त्यसकाे जवाफमा भारत पाकिस्ताबीच क्षेप्यास्त्र हमलासमेत भएकाे थियाे।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१