विश्वका यी देश जहाँ सामाजिक सञ्जाल प्रतिबन्धित छन्

नेपालमा कानुनी रूपमा दर्ता हुन नआएको भन्दै सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द गरेको छ। फलस्वरूप, अहिले नेपालमा फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक, एक्स, टेलिग्राम, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाल चलेका छैनन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशनअनुसार सेवा प्रदायक कम्पनीहरूले बिहीबार बेलुकैदेखि सामाजिक सञ्जालहरू बन्द गरेका हुन्। मन्त्रालयका अनुसार पटक पटक ताकेता गर्दा पनि कम्पनीहरूले नेपालमा दर्ता भएर कार्यालय स्थापना नगरेको, सम्पर्क व्यक्ति नतोकेको आधारमा प्रतिबन्ध लगाइएको हो।

यस कदमसँगै सामाजिक सञ्जालमा आश्रित सञ्चार माध्यम, उद्यम तथा व्यवसाय, विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवारजनसँग गर्ने नियमित संवाद, विभिन्न प्रचारप्रसारजन्य गतिविधि ठप्पप्राय बन्न पुगेको छ ।

सरकारको यस निर्णयको व्यापक विरोध भइरहेको छ । सामाजिक सञ्जाल बन्द हुँदा अधिकांश प्रयोगकर्ताहरु सरकारसँग आक्रोशित देखिएका छन् । केहीले भिपिएनमार्फत सञ्जाल चलाउने प्रयास गरिरहेका छन्।

सरकारले भने सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता भई कानुनी दायित्व पूरा गर्न तयार भएमा प्रतिबन्ध तत्काल हट्ने अभिव्यक्ति दिइरहेको छ।

नेपाल लोकतान्त्रिक मूल्यमान्यता अँगालेको खुला देश भएकाले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता खोस्ने कार्य समाजका लागि अस्वीकार्य हुन्छ । तर विश्वमा त्यस्ता देश पनि छन् जहाँ सामाजिक सञ्जालहरू पूर्ण रूपमा प्रतिबन्धित छन् । केही देशमा भने बेला बेलामा केही महिना, साता वा दिनका लागि प्रतिबन्ध गर्ने गरिएको छ ।

चीन

चीनमा फेसबुक, इन्स्टाग्राम, ट्विटर (हाल एक्स्), युट्युब, ह्वाट्सएप , गुगल, स्न्यापच्याट, र रेडिटजस्ता सबै प्रमुख सामाजिक सञ्जालहरू स्थायी रूपमा नै बन्द छन्। यो प्रतिबन्ध चिनियाँ सरकारको “ग्रेट फायरवाल” अन्तर्गत गरिएको हो, जसले विदेशी सूचना नियन्त्रण गर्न मद्दत गर्दछ। यस कदमको मुख्य उद्देश्य सूचना स्वतन्त्रतामाथि नियन्त्रण राख्नु र विदेशी प्रभावबाट बच्नु हो। चीनले केही चर्चित अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरू, जस्तै: फेसबुक, ट्विटर र युट्युब बन्द गरेको भए पनि आफैँले विकास गरेका सामाजिक सञ्जालहरू व्यापक रूपमा प्रयोग गरिरहेको छ। चीनमा हाल विच्याट, डोउयिन, वीबो, कुवाइशोउ, क्सियाओहोंगशु लगायतका प्लेटफर्महरू लोकप्रिय छन्।

इरान

इरानमा पनि फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब, ह्वाट्सएप, टेलिग्रामजस्ता सामाजिक सञ्जालहरू प्रायः स्थायी रूपमा प्रतिबन्धित छन्। यो प्रतिबन्ध सरकारले प्रदर्शन नियन्त्रण गर्ने, पश्चिमी मूल्य मान्यताहरू रोक्ने तथा सरकारी आलोचना दबाउने उद्देश्यले लगाएको हो। कहिलेकाहीँ यी सञ्जालहरू आंशिक रूपमा खुल्ला हुने भए पनि अधिकांश समय प्रतिबन्धित नै रहन्छन्। यस्ता प्रतिबन्धपछि इरानले बेल मेसेन्जर, सुरुश, एइटा, रुबिका जस्ता आफ्नै सञ्जालहरू विकास गरी सञ्चालन गरिरहेको छ, जुन सरकारको निगरानीमा चलाइन्छ।

उत्तर कोरिया

उत्तर कोरियामा सबै प्रकारका विदेशी सामाजिक सञ्जालहरू पूर्ण रूपमा प्रतिबन्धित छन्। त्यहाँको इन्टरनेट प्रयोग अत्यन्त सीमित छ र सामान्य नागरिकहरूलाई बाह्य विश्वसँग जोड्ने कुनै स्वतन्त्र पहुँच छैन। प्रतिबन्धको मुख्य कारण सूचना नियन्त्रण र सरकारको पूर्ण नियन्त्रणमा समाज राख्नु हो। नेपालमा पनि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि कतै उत्तर कोरिया बनाउन लागिएको त होइन भनेर चर्चा सुरु हुन लागेको छ । उत्तर कोरियालीहरूले विश्वका चर्चित सामाजिक सञ्जाल प्रयोग गर्न पाउँदैनन्। उनीहरूले सरकारद्वारा सञ्चालित क्वाङम्याङ (ब्राइट स्टार) नामक राष्ट्रिय इन्ट्रानेटका माध्यमबाट रेड स्टार अपरेटिङ सिस्टम, राक्वोन भिडियो बैठक प्लेटफर्म, मानबाङ स्ट्रिमिङ सेवा र नाएनारा सरकारी पोर्टल जस्ता सीमित र नियन्त्रण गरिएका सञ्जालहरू प्रयोग गर्छन्। यी सबै सञ्जालहरू कडा निगरानीमा सीमित व्यक्तिहरूले मात्र सञ्चालन गरिरहेका छन् ।

तुर्कमेनिस्तान

तुर्कमेनिस्तानमा फेसबुक, ट्विटर, युट्युब र टेलिग्राम जस्ता सामाजिक सञ्जालहरू स्थायी रूपमा बन्द छन्। सरकारले स्वतन्त्र सञ्चार माध्यममा पूर्ण नियन्त्रण राखेको छ र विदेशी विचारधाराको प्रवेश रोक्न प्रतिबन्ध लगाइएको हो। तुर्कमेनिस्तानमा विश्वका धेरै लोकप्रिय सामाजिक सञ्जालहरू प्रतिबन्धित भए पनि सरकारद्वारा अनुमति प्राप्त घरेलु तथा सीमित नेटवर्कहरू चलिरहेका छन्। मुख्यतया, तुर्कमेनिस्तानस इलेकट्रोन मिडियाका केही सरकारी वेबसाइटहरू र सञ्चारका लागि स्थानीय प्लेटफर्महरू प्रयोगमा छन्।

म्यानमार

सन् २०२१ को सैनिक कु पछिको अवस्थाबाट म्यानमारमा फेसबुक, ट्विटर र इन्स्टाग्राममा लगातार प्रतिबन्ध लगाइएको छ। सरकारले विरोध प्रदर्शनहरू नियन्त्रण गर्न र आफ्नो सैन्य शासनको आलोचना रोक्न यस्ता कदम चालेको हो। यद्यपि, कहिलेकाहीँ केही प्लेटफर्महरू फेरि खुलाइए पनि स्थिर रूपमा भने खुला छैनन्।

भारत

छिमेकी मुलुक भारतमा सामाजिक सञ्जालहरूमा स्थायी रूपमा प्रतिबन्ध छैनन् । तर विभिन्न क्षेत्रीय घटना घट्दा अस्थायी रूपमा सञ्जाल प्रतिबन्ध गरिएको देखिन्छ। उदाहरणका लागि, नागरिकता संशोधन कानुन विरोधका बेला, जातीय दङ्गा, वा चुनावको समयमा विशेष गरी कश्मीर, मणिपुरजस्ता क्षेत्रमा फेसबुक, एक्स र इन्स्टाग्राम केही समयका लागि बन्द गरिएको थियो। सरकारले यसलाई “कानुनी व्यवस्था कायम राख्न” आवश्यक कदम बताउने गरेको छ । चर्चित चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक भने केही समयअघि देखी नै भारतमा प्रतिबन्धित छ ।

पाकिस्तान

पाकिस्तानमा राजनीतिक अशान्ति वा विरोध प्रदर्शनको समयमा फेसबुक, ट्विटर, युट्युब, र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूलाई अस्थायी रूपमा ब्लक गरिएको उदाहरणहरू छन्। विशेषतः सन् २०२३ र २०२४ मा इमरान खानविरुद्धका आन्दोलनहरूका बेला पाकिस्तानमा सामाजिक सञ्जाल प्रतिबन्ध गरिएको थियो ।

श्रीलङ्का

सन् २०२२ को सरकार विरोधी आन्दोलनका क्रममा दक्षिण एसियाली मुलुक श्रीलङ्काले फेसबुक, इन्स्टाग्राम, र ह्वाट्सएपलाई केही समयका लागि प्रतिबन्ध लगाएको थियो। सरकारले सार्वजनिक रूपमा असन्तोष फैलन नदिन यस्तो निर्णय गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जानकारी गराएका थिए ।

रुस

रुसले सन् २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएपछि फेसबुक र इन्स्टाग्रामलाई “अतिरेकवादी संस्था” घोषणा गर्दै प्रतिबन्ध लगाएको हो। रुसमा ट्विटरमाथि पनि नियन्त्रण लगाइएको छ। यस किसिमका प्रतिबन्धले सूचना प्रवाहमा बाधा ल्याउने र विरोधीका आवाजलाई दबाउने गर्छ भन्ने जनबुझाइ रहेको छ।

बङ्गलादेश

दक्षिण एसियाली मुलुक बङ्गलादेशमा पनि केही समय अगाडी भएको छात्र आन्दोलन र चुनावताका पनि सामाजिक सञ्जालहरू ब्लक गरिएका थिए। बङ्गलादेशमा यस्ता प्रतिबन्ध अल्पकालीन भए पनि पछिल्लो समय नियमित रूपमा दोहोरिइरहेको देखिन्छ ।

टर्की

टर्कीमा आतङ्कवादी आक्रमण वा विशेष राजनीतिक घटना भइरहेका बेला फेसबुक, युट्युब, र ट्विटर केही समयका लागि रोक्ने गरिएको छ। सरकारको भनाइलाई मान्ने हो भने यो कदम अफवाह रोक्नको लागि गरिन्छ, तर यसलाई अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमणका रूपमा टर्कीका जनताले विश्लेषण गर्छन् ।सन् २०१९ मा चुनावपछिको हिंसापछि इन्डोनेसियाले फेसबुक र ह्वाट्सएपको सेवा आंशिक रूपमा बन्द गर्‍यो। अफवाह फैलन नदिन यस्तो कदम चालिएको हो भनेर सरकारले जवाफ दिएको थियो ।

साउदी अरब

साउदी अरबमा सामाजिक सञ्जालहरू पूर्ण रूपमा प्रतिबन्धित छैनन्, तर सबै सञ्जालहरू सरकारद्वारा तीव्र निगरानीमा राखिन्छ । ह्वाट्सएप, स्काइप र फेस टाइमजस्ता सञ्जालहरू भने ब्लक गरिएका छन्।

युएई

युएईमा पनि सामाजिक सञ्जाल खुला भए पनि ह्वाट्सएप कल, स्काइप र फेस टाइमजस्ता सेवाहरू प्रयोग गर्न रोक लगाइएको छ।

भियतनाम

भियतनाममा सामाजिक सञ्जाल प्रयोग गर्न पाइन्छ । तर सरकारले यसको कडा निगरानी गरिरहेको छ र सरकारको आलोचना गर्ने सामग्री तुरुन्त हटाउन लगाउँछ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१