‘नेपोबेबी ट्रेन्ड’ जेनजी पुस्ताको चेतना : नेपालमा नयाँ सामाजिक आन्दोलन

नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुरु भएको ‘नेपोबेबी’ ट्रेन्ड केवल एक डिजिटल चलन मात्र होइन, यो जेनजी (Gen Z) पुस्ताको स्वतःस्फूर्त सामाजिक चेतना र राजनीतिक सचेतनाको संकेत हो। नेताका छोराछोरी र प्रभावशाली परिवारका सन्तानहरूको विलासी जीवनशैलीलाई लिएर उठाइएको यो आवाजले नेपालमा युवा वर्गको नयाँ सोच प्रस्तुत गरेको छ।

सामान्य नागरिकका सन्तान अझै स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकताबाट वञ्चित छन्, तर राजनीतिक परिवारका छोराछोरी विदेशी ब्राण्ड, महँगा गाडी र भव्य जीवनशैलीमा रमाइरहेका छन्। यही असमानताले जेनजी पुस्तामा असन्तोष र प्रश्न उठाएको छ। ‘मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले नेताका छोराछोरीको आलिशान जीवनशैलीका लागि कर तिर्नुपर्छ’ जस्ता नाराहरूले युवाको आक्रोश प्रस्ट देखाउँछ।

टिकटक, रेडिट र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा चलिरहेको यो ट्रेन्डले जनताको वास्तविक असमानता र पारिवारिक विशेषाधिकारको उजागर गर्न मद्दत गरेको छ। अब मात्र डिजिटल आवाज नभई सोमबारदेखि सडकमा स्वतस्फूर्त आन्दोलनको घोषणा पनि गरिएको छ। यसले स्पष्ट देखाएको छ कि युवा पुस्ता केवल आलोचना मात्र होइन, सक्रिय सहभागिता र परिवर्तनका लागि तयार छ। नेपाली राजनीति लामो समयदेखि केही परिवारको प्रभुत्वमा सीमित रहँदै आएको छ।

नेताका सन्तानहरूको विलासी जीवनशैलीमाथि उठेका प्रश्नहरूले राजनीतिक पारिवारिक वंशवादको अन्त्यको आवश्यकता दर्शाउँछ। नेताका सन्तान भन्दै अहिले जयवीर सिंह, श्रृङ्खला खतिवडा, स्मिता दाहाल, एन्जिला बस्नेतदेखि एकता ढकालसम्म अहिले युवाकाे नजरमा ताराे बनेका छन् । उल्लेखित यी पात्ररहरुलाई ताराे बनाउनु उचित हाेइन । तर एउटा कुरा भने स्पष्ट छ, जेनजी पुस्ता केवल भ्रष्टाचार वा व्यक्तिगत विलासिताविरुद्ध नभई सार्वजनिक स्रोत र अवसरको न्यायपूर्ण प्रयोगको माग गर्दैछ।  समाज र सरकारका लागि सन्देश स्पष्ट छ, जेनजी पुस्तालाई गाली र बेवास्ता गरेर वा सामाजिक सञ्जाल बन्द गरेर निस्तेज बनाउन सकिँदैन। उनीहरूको प्रश्न र आक्रोश देशको भविष्य र राजनीतिक सुधारमा निर्णायक शक्ति हुन सक्छ।

यसैले आवश्यक छ, सरकार र राजनीतिक नेतृत्व युवा पुस्तासँग संवादमा सामेल होस्, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरोस्, र उनीहरूको आवाजलाई केवल चुनौतीको रूपमा होइन, सकारात्मक परिवर्तनको अवसरको रूपमा लिनुपर्छ। नेपोबेबी ट्रेन्ड केवल आलोचना होइन, यो नेपालका लागि सामाजिक न्याय, समान अवसर र जवाफदेहिता सुनिश्चित गर्ने अभियानको प्रारम्भ हो। युवा पुस्ताले देखाएको चेतना र सक्रियताले देशलाई अझ लोकतान्त्रिक, पारदर्शी र न्यायपूर्ण मार्गतर्फ अघि बढाउन सक्छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१