• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जेनजीको आन्दोलनमा परी कम्तीमा सात जनाको मृत्यु, घाइतेको केएमसीमा निःशुल्क उपचार

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । सय जनाको हाराहारीमा घाइते भएकामा चार जनाको ट्रमा सेन्टरमा २ जनाको सिभिल अस्पतालमा र केएमसीमा मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

ट्रमामा मात्रै १० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । त्यस्तै सिभिल अस्पतालमा थुप्रै घाइतेको उपचार भइरहँदा दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै केएमसीमा एक जनाको मृत्यु भएको छ । थुप्रै घाइतेको उपचार भइरहेको छ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माले जेनजीको आन्दोलनलाई समर्थन गर्दै केएमसीमा निःशुल्क उपचार गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

जेनजी पुस्तामा घुसपैठ भएसँगै आन्दोलनले गम्भीर रुप लिएको छ । नयाँ बानेश्वर क्षेत्रमा लामो समयदेखि तनाव जारी छ । जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वरसँगै सिंहदरबार, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयमा कर्फ्यु लगाएको छ ।

जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनकारीलाई तत्काल घर जान आग्रह गरेको छ । यद्यपि उक्त आन्दोलनमा विपक्षी दलहरुका कार्यकर्ता रहेको दाबी गरिएको छ । उनीहरुले आन्तरिक सर्कुलर जारी गरी आफूहरुलाई बानेश्वरमा भेला हुन बताएको आन्दोलनकारीले जनाएका छन् ।

काठमाडौँसहित उपत्यका बाहिरका सहरहरुमा पनि प्रदर्शन भएको छ ।