हामी कहिले सच्चिने त ?

जस्ता जनता हुन्छन्, उस्तै समाज हुन्छ, उस्तै नेतृत्व हुन्छ अनि उस्तै देश हुन्छ।

फेरिएको राजनीतिक घटनाक्रममा हामी आफैँ चाहिँ कहिले परिवर्तन हुने? परिवर्तन प्रणाली, नेतृत्व मात्रै फेरिएर आउँदैन, हामी सबै एकछिन एकान्तमा बसेर आत्म समीक्षा गर्ने कि? आफैले आफूलाई न्यूनतम यति बाचा गर्ने कि?

१. आजबाट हामी कहीँ कतै पनि लाइन मिच्ने छैनौँ।

२. आफ्नो काम छिटो गराउन कुनै पनि सरकारी निकायमा यसो पाँच सय/हजार रुपैयाँ खल्तीमा राख्दिने छैनौँ।

३. जाबो यतिले के हुन्छ, गए सरकारको जान्छ, हाम्रै कर त हो नि भन्दै राज्यको कुनै सम्पत्ति नष्ट गर्ने छैनौँ।

४. आफ्नो घर अगाडिको कुलो, बाटो भत्किए ‘चोर प्रधानमन्त्री’ भनेर गाली नगरी, वडा कार्यालय वा पालिकामा गएर जवाफ माग्नेछौँ।

५. सांसदको मुख्य काम: नीति, नियम बनाउने हो, भोट माग्न आउँदा “मेरो घर अगाडिको बाटो बनाइदिनु” भन्ने वा “यसले केही विकास गरेन हाम्रो क्षेत्रमा” भनेर भोट नदिने भन्दै झ्याली पिट्दै हिँड्ने छैनौँ।

६. आफू र आफ्ना मान्छेबाट भएका साना देखि ठुला गल्ती जस्तै सामान्य ट्राफिक नियम उल्लङ्घनदेखि हत्या, हिंसासम्म लुकाउने, बचाउने काममा लाग्ने छैनौँ।

७. निर्वाचनमा विवेक प्रयोग गर्नेछौँ, आक्रोश आवधिक निर्वाचनमा पोख्नेछौँ अनि आफैले मत हालेको एक वर्ष नबित्दै आफ्नो प्रतिनिधिलाई देश छोड भन्दै नाजायज नारा लगाई देशलाई सधैँ दुबिधामा राख्ने छैनौँ।

८. देशभित्र जातीय, धार्मिक, क्षेत्रीय अनि रङ्गिए विवाद गरेर समाजमा घृणा फैलाउने, सधैँ एकले अर्कोलाई हेप्ने र दोष दिने काम गर्ने छैनौँ। ९. आफ्नाभित्रका समस्या आफैँ मिलाएर आत्मनिर्भर हुनेछौँ; नुनदेखि सुनसम्म हामीले आयात गर्ने छिमेकीलाई दोष लगाएर उम्किने अनि झुटो राष्ट्रवाद फैलाउने छैनौँ।

१०. केही गरी अबको एक दशकपछि आज भएका परिवर्तनले चित्त नबुझे: “राजतन्त्र, ओली, देउवा र प्रचण्ड नै ठिक थिए” भन्दै उल्टो बाटो नअङ्गाली, आवश्यक परे आवधिक निर्वाचन र लोकतान्त्रिक विधिबाट समाधान खोज्नेछौँ।

११. लोकतन्त्रमा अरूलाई प्रश्न सोधेजस्तै आफूमाथि पनि प्रश्न आइपर्ने सक्छ; मानिसले जे गरे पनि “वाह–वाह” गर्ने, गल्ती लुकाउने प्रवृत्तिले मानिसमा अधिनायकवाद र सर्वसत्तावादी भावना उत्पन्न गर्छ। त्यसैले सहीलाई सही र गलतलाई गलत भन्ने बानी विकास गर्नेछौँ।

१२. हामी आफैँ जबाफदेही हुनेछौँ र सार्वजनिक पदमा बसेकालाई पहिलो दिनदेखि नै प्रश्न सोधेर उत्तरदायी बनाउनेछौँ र विपरीत विचार राख्नेहरूलाई बहिष्कार गर्ने छैनौँ।

तितो होला तर सत्य हो – नेताभन्दा गलत हामी छौ। २०७९ सालको निर्वाचनमा ओली, शेरबहादुर, देउवा र अहिले सबैले देख्न नरुचाएका तमाम राजनीतिक पार्टी र नेतृत्वलाई कसले जिताएको हो? हामीले पाँच सय/एक हजार घुस लिने/दिने गर्दा “देश त यस्तै हो” भन्ने अनि राजनीतिक नेताले लाख/करोड घुस लिँदा चाहिँ “देश यस्तै हो चाहिँ नहुने?”

चुनावमा करोडौँ खर्च नगरी जितिँदैन भन्ने सबैलाई थाहा छ, अनि उसले अर्को चुनावका लागि पैसाको जोहो गर्दैन? लोकतन्त्र र परिवर्तनका लागि आफ्नो सम्पूर्ण जीवन सुम्पेका राजनीतिक नेतृत्व आज किन भ्रष्ट, मपाईँ र सत्ता लिप्त भए? कुनै बेला देशको लागि तपाईँहरू जस्तै गोली खान तयार भएका, अन्यायविरुद्ध आवाज उठाएका, लडेका विभिन्न उमेर समूहका दुई पुस्ते नेताहरूले चलाउँदा पनि देश किन विफल भयो ? यो निकै गम्भीर प्रश्न हो।

यो स्थिति तपाईँ, हामी सबैकै कारणले उत्पन्न भएको हो। यसले मानिसलाई नियम, कानुन र प्रणालीमा बाँध्न किन र कति जरुरी छ भन्ने कुरा प्रस्ट्याउँछ।

प्रजातन्त्र, राजतन्त्र, पञ्चायत, बहुदलीय प्रजातन्त्रको पुनः स्थापना, माओवादी द्वन्द्व, राजतन्त्रको पतन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र – यी पछिल्ला ७४ वर्षमा देशले अनुभव गरेका प्रणालीगत परिवर्तनहरू हुन्।

हाम्रो अगाडि रहेको यो ज्वलन्त प्रमाणले देखाउँछ कि देशमा आमूल परिवर्तन कुनै वाद, प्रणाली वा नेतृत्व फेरिँदै मात्र आउँदैन। यो सबै सम्भव र आशा बादी भएको घडीमा मैले यो लेख निराशा बाँड्न लेखेको होइन, मैले त केवल हामी नेपाली र हाम्रो समाजको समस्या कोट्याउन खोजेको हो।

परिवर्तन सर्वप्रथम आफैँबाट हुनु पर्छ र क्रमशः परिवार, समाज अनि देश बदलिन्छ भनेर झस्काउन खोजेको हो । यो राजनीतिक आँधीबेहरी ल्याउन सफल बहादुर नयाँ पुस्तालाई धेरै धेरै बधाई, शुभकामना र उच्च सम्मान छ।

शाहदत प्राप्त नवयुवा शहीदहरू प्रति श्रद्दासुमन साथ सलाम सहित पीडित परिवारहरूमा सहानुभूति, धैर्य धारण तथा विचलित नहुन आग्रहका साथ नयाँ आशा अपेक्षा सँगै हामी पनि बदलिने छौ अनि हामी सँगसँगै राष्ट्र पनि बदलिने छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१