
काठमाडौँ । जेन–जी आन्दोलनको प्रभावपछि देशले पहिलो पटक महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ ।
नयाँ सरकार गठनसँगै विभिन्न मन्त्रालयका लागि राजनीतिक दल बाहिरबाट योग्य र सक्षम व्यक्तिको खोजी भइरहेको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित ज्ञान र विज्ञता भएका, समाजमा राम्रो छवि बनाएका र रुचाइएका व्यक्तिहरु मन्त्रालयमा ल्याउनेगरी तयारी भइरहेको छ ।
यसै सिलसिलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वका लागि अहिले केही ब्यक्तिहरुको नाम सार्वजनिक चासोको केन्द्र बनेको छ । नेपाललाई विश्वसामु चिनाउने यो मन्त्रालयका सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भएको छ ।
फुर गेल्जे शेर्पा
सोलुखुम्बुको चौरिखर्कको साधारण परिवारमा जन्मिएका फुर गेल्जेले बाल्यकालदेखि हिमालसँगको गहिरो नाता गाँसे । कठिन बाटो हुँदै अन्तर्राष्ट्रिय पर्वतारोहणमा उचाइ हासिल गर्दै उनले केवल आफ्ना सफलताहरू मात्र संग्रह गरेनन्, नेपाली पर्यटनको सम्भावनालाई नयाँ आयाममा पुर्याए ।
नेपाल माउण्टेनियरिङ एसोसिएसन (एनएमए)का अध्यक्षदेखि नेपाल पर्यटन बोर्डका नीति निर्माता, ट्रेकिङ एजेन्सीको नेतृत्वदेखि नेपाल एयरलाइन्सको बोर्ड निर्देशकसम्मको उनको अनुभवले उनलाई पर्यटन र हवाई यातायात दुवै क्षेत्रमा सशक्त बनाएको छ ।
आफ्नै लगानीमा हिमाली क्षेत्रमा होटल, हेलि एभरेस्ट र अस्पताल स्थापना गरेर उनले व्यावसायिक सफलतालाई सामाजिक उत्तरदायित्वसँग जोडिदिएका छन् । पर्यटनलाई केवल व्यापारिक होइन, समुदायलाई समृद्ध बनाउने साधनको रूपमा हेर्ने उनको दृष्टि यस मन्त्रालयको आत्मासँग मेल खाने देखिन्छ ।
क्याप्टेन विजय लामा
जय चन्द्र सूर्यको नारा लिएर तीन दशकदेखि आकाशमा नेपाललाई बोक्दै उडिरहेका वरिष्ठ पाइलट विजय लामा नेपालीको मनमा निस्वार्थ देशप्रेमको प्रतिकका रुपमा मानिन्छ । सुरक्षित र पारदर्शी नागरिक उड्डयनको सपना उनले केवल भाषणमा होइन, आफ्नो पेशागत जीवनमै जिउँदै आएका छन् ।
कलाकार र सांस्कृतिक अभियन्ताका रूपमा पनि सक्रिय उनले नेपाली संगीत र चलचित्रमार्फत देशको पहिचानलाई विश्वमा फैलाउने अभियानलाई निरन्तरता दिएका छन् । विमानको ककपिटदेखि चलचित्रको पर्दासम्म लामाको प्रत्येक कदममा ‘पहिले देश’ भन्ने भावना झल्किन्छ । नागरिक उड्डयनको सुधार र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा उनका दृष्टिकोणले उनलाई पर्यटन मन्त्रालयको उपयुक्त पात्रका रुपमा हेरिएको छ ।
पुनम यादव
धार्मिक आस्था र आधुनिक दृष्टिकोणको अद्भुत मेल बोकेकी पुनम लामो समयदेखि संस्कृति र समाजसेवामा सक्रिय छिन्। आध्यात्मिक कार्यक्रम, रामकथा जस्ता सांस्कृतिक संवाददेखि पर्यटन प्रवद्र्धनसम्म उनको कामले नेपाली समाजको जरा–जरा भित्रसम्म पहुँच बनाएको छ।
पुरातात्त्विक सम्पदाको जगेर्ना, सांस्कृतिक उत्सवको संरक्षण र प्राकृतिक सौन्दर्यको संवद्र्धनमा उनले देखाएको नेतृत्वले पर्यटनलाई केवल आर्थिक लाभ नभई आत्मीय अनुभवको यात्रामा बदल्ने सपना देखाउने भएकाले उनको नाम केही शुभेच्छुकहरुले प्रस्ताव गरेका छन् । दुर्गम क्षेत्रमा पनि सुरक्षित र भरपर्दो हवाई सेवा विस्तार गर्ने उनको योजनाले नागरिक उड्डयनको नयाँ दिशा देखाउन सक्ने अपेक्षा गरिएको छ ।
विनायक शाह
विनायक शाह, होटल संघ नेपाल (हान)का अध्यक्ष, नेपाली पर्यटन उद्योगमा तीन दशकभन्दा बढीको अनुभव बोकेका एक दूरदर्शी र राष्ट्रप्रेमी नेता हुन् । उनले आतिथ्य सेवा, संस्कृति र पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् ।
कोभिड महामारीको संकटमा उनले पर्यटन क्षेत्रलाई जोगाउन निर्णायक भूमिका खेले, हजारौं रोजगारी बचाए र उद्योगको पुनःस्थापनाका लागि अग्रसर भए । उनको नेतृत्वमा हानले नेपाली संस्कृति, परम्परा र स्थानीय सम्पदालाई प्रवर्द्धन गर्न थुप्रै पहलहरू गरेको थियो ।
शाहको विश्वास छ,‘हाम्रो पहिचान हाम्रो संस्कृति हो, र सम्भावना हाम्रो पर्यटन ।’ उनी समावेशी, दिगो र व्यावहारिक पर्यटन नीति निर्माणका लागि प्रतिबद्ध रहेको सुनाउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तै अनुभवी र जनमुखी नेतृत्व चाहिएको छ । शाहसँग यस क्षेत्रको गहिरो ज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र सुधारको स्पष्ट दृष्टिकोण भएकाले केही शुभेच्छुकहरुले उनको नाम पनि अगाडि बढाएका छन् ।
प्रधानमन्त्री कार्कीको क्याबिनेटमा कसले प्रवेश पाउँछ भन्ने निर्णय नभइसकेकाले संभावित अनुहारहरुको खोजी जारी छ । चार व्यक्तित्वले बोकेको कथा, संघर्ष र प्रतिबद्धताले नेपाली जनतामा आशा जगाउने विश्वास लिइएको छ ।