काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले भिजन लुम्बिनी ऊर्जा कम्पनीका प्रबन्ध निर्देशक जगत बहादुर पोखरेललाई कर तथा राजस्व समितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको हस्ताक्षरयुक्त पत्रमार्फत उक्त जानकारी दिइएको हो ।
महासंघले कर तथा राजस्व समितिलाई सबल र प्रभावकारी बनाउन पोखरेललाई समितिको आमन्त्रित सदस्यमा मनोनयन गरिएको जनाएको छ । महासंघले समितिको कार्यलाई सफल बनाउन पोखरेलको सक्रिय भूमिका रहने विश्वाससमेत व्यक्त गरेको छ ।
नयाँ जिम्मेवारी पाएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत महासंघप्रति आभार व्यक्त गरेका छन्। उनले अध्यक्ष ढकालप्रति धन्यवाद दिँदै समितिका संयोजक युवा उद्यमी अम्बिकाप्रसाद पौडेललाई पनि विशेष आभार प्रकट गरेका छन् ।
पोखरेलले भनेका छन्, ‘मलाई यस समितिमा जिम्मेवारी दिई स्वागत गरिएको अवसरमा विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। समितिको आमन्त्रित सदस्यको रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’