• २०८३ असार १५
  • 2026 June 29, Monday

जेनजी आनदोलनमा भएको क्षतिको बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो

काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ८ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ९८८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३०७ दाबीमार्फत ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसपछि ओरिएन्टल इन्स्योरेन्सले ८६ दाबीमार्फत ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १९६ दाबीमार्फत २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

प्रदेशगत रूपमा हेर्दा, सबैभन्दा बढी बागमती प्रदेशमा दाबी परेको छ । यहाँ १,६०८ दाबी दर्ता भई कुल १८ अर्ब भन्दा बढीको बीमा दाबी परेको छ । त्यस्तै, कोशी प्रदेशमा ३७७ दाबीमार्फत २० अर्ब २५ करोड रुपैयाँ, गण्डकीमा २१९ दाबीमार्फत १७ अर्ब ९३ करोड रुपैयाँ, लुम्बिनीमा २५४ दाबीमार्फत ५२ करोड रुपैयाँ, मधेशमा ३२३ दाबीमार्फत ६५ करोड रुपैयाँ, कर्णालीमा २५ दाबीमार्फत ८ करोड ९८ लाख रुपैयाँ र सुदूरपश्चिममा १८२ दाबीमार्फत २५ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।