• २०८३ असार २५
  • 2026 July 09, Thursday

दशैंमा मासु खाँदा हड्डी अड्किने जोखिम: घरायसी उपाय हुदैँन प्रभावकारी

  • २०८२ असोज १२, आइतबार १३:३४

नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गर्दा बजारमा मासु किन्ने र खाने भीड बढ्ने गर्दछ। खसी, लोकल कुखुरा, बङ्गुरदेखि लिएर माछा–मासु खाने परम्परा पुरानो छ। तर यसै रमाइलोबीच एउटा गम्भीर स्वास्थ्य समस्या पनि उत्तिकै बढ्ने चिकित्सकहरूले चेतावनी दिएका छन्— मासुको हड्डी घाँटीमा अड्किने जोखिम।

सबै उमेर समूहमा समस्या

यो समस्या केवल वयस्कमा मात्र होइन, बालबालिकादेखि वृद्धबृद्धासम्म सबै उमेर समूहमा देखिने गर्छ। विशेषगरी बालबालिकाले हतारमा खाने, बुढाबुढीले दाँत नभएकाले राम्ररी नचपाई निल्ने, वा रक्सी सेवनपछि मासु खाने व्यक्तिमा हड्डी अड्किने सम्भावना धेरै हुन्छ। चिकित्सकहरूका अनुसार दशैंजस्तो चाडपर्वमा मासु बढी मात्रामा खाने गरिन्छ, जसले यस किसिमको जोखिम अझ बढाउँछ।

माछाको भन्दा कुखुरा वा खसीको हड्डी जटिल हुने चिकित्सकहरू बताउछन्। माछाको हड्डी सामान्य अवस्थामा सजिलै निस्कन सक्छ। बरु खसी वा कुखुराको हड्डी अड्केमा उपचार झन् जटिल हुन्छ। जटिल अवस्थामा शल्यक्रियामार्फत निकाल्नुपर्ने हुन्छ, जसमा ढिलाइ भए घाँटीमै संक्रमण समेत हुन सक्छ।

हड्डी कहाँ अड्केको छ भन्ने कुरा मुख्य हुन्छ।हड्डी श्वास नलिमा अड्किएको हो कि खाना खाने नलिमा भन्ने कुरा पहिचान गर्नु पहिलो काम हो। यदि श्वास नलिमा अड्किएको छ भने ‘घुचुकमा हिर्काएर’ सामान्य विधिबाट निकाल्न सकिन्छ। तर खाना खाने नलिमा अड्केमा भने समस्या उत्पन्न हुन्छ जसका कारण उपचार सम्भव नहुन सक्छ।

चिकित्सकहरूका अनुसार यस्तो अवस्थामा ढिलाइ नगरी तुरुन्त अस्पताल पुर्याउनु पर्छ। अस्पताल पुर्याउन ढिलो गरेको खण्डमा संक्रमण, घाटि सुन्निनेजस्ता समस्या उत्पन्न भई अवस्था गम्भीर बन्न सक्छ।

घरायसी उपाय वैज्ञानिक छैनन्

गाउँघरमा प्रचलित उपचार विधिहरू जस्तै— सुकेको गुराँस खान दिने, केरा खुवाउने आदि तरिका प्रचलनमा छन्। तर चिकित्सकहरूको भनाइमा यस्ता उपाय वैज्ञानिक प्रमाणबिनै प्रचलित भएका हुन्। “गुराँस वा केरा खाँदा हड्डी निस्किन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान छैन,” उनीहरू भन्छन्। यस्तो घरेलु उपायमा भर पर्नु जोखिमपूर्ण हुन्छ र यसले बिरामीलाई अझ जटिल अवस्थामा पुर्या,उन सक्छ। यस्तो अवस्थामा शल्यक्रिया नै अन्तिम विकल्प हुनसक्छ ।

चिकित्सकहरूको भनाइमा घाँटीमा अड्किएको हड्डीको अन्तिम उपचार शल्यक्रिया नै हो।

सामान्य अवस्थामा पाइप प्रयोग गरेर पनि हड्डी निकाल्न सकिन्छ भने गम्भीर अवस्थामा ठूलो शल्यक्रिया गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा २–३ दिन ढिलाइ गरेर अस्पताल आउने बिरामीमा घाँटीमा संक्रमण भई अवस्था गम्भीर बन्न पुगेका उदाहरण पनि भेटिएको छ। त्यसैले हड्डी अड्केपछि घरमै बस्ने वा ढिला गर्ने गल्ती गर्नु हुँदैन। सावधानी अपनाउनु नै उत्तम हुन्छ।

विशेषज्ञहरूले मासु खाँदा केही आधारभूत सावधानी अपनाउन आग्रह गरेका छन्।

मासु राम्ररी चपाएर मात्र निल्ने, बालबालिकालाई मासु स–साना टुक्रा बनाएर दिने, दाँत नभएकाले मासु सावधानीपूर्वक खाने, रक्सी सेवन गरेपछि हतारमा मासु नखानेजस्ता कुरामा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ। हड्डी अड्केपछि घरायसी उपायमा समय बर्बाद गर्नु भन्दा तुरुन्त अस्पताल पुगेर चिकित्सकको सल्लाह लिनु नै उपयुक्त हुने चिकित्सकहरु बताउछन्।

  • २०८२ असोज १२, आइतबार १३:३४