• २०८३ असार २५
  • 2026 July 09, Thursday

१६ अस्पतालमा ‘जेन–जी क्लिनिक’, घाइतेलाई निःशुल्क उपचार र यातायात सुविधा

  • २०८२ असोज १२, आइतबार १४:४७

जेन–जी युवा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई अब उपचारमा सहजता दिलाउन गृह मन्त्रालयले विशेष परिचयपत्र वितरण सुरु गरेको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रमा सेन्टरमा गएर घाइतेहरूलाई परिचयपत्र प्रदान गरेका हुन्। मन्त्रालयले सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिचयपत्र वितरण गर्न परिपत्र गरेको छ।

मन्त्रालयका अनुसार यो परिचयपत्रका आधारमा घाइतेहरूले सहज उपचार पाउनेछन्। साथै काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरूमा डेडिकेटेड “जेन–जी क्लिनिक” स्थापना गरिएको छ। यी क्लिनिकहरूले घाइतेहरूको फलोअप उपचारलाई व्यवस्थित गर्नेछन्।

अस्पतालसम्म आउ–जाउ गर्न घाइतेहरूको लागि निःशुल्क यातायात सुविधा समेत उपलब्ध गराइनेछ। पटकपटक फलोअप उपचार आवश्यक पर्ने घाइतेहरूको लागि स्वास्थ्य मन्त्रालय वा सम्बन्धित अस्पतालले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नेछ। उपचारमा संलग्न विज्ञ डाक्टरहरूको संयोजकत्वमा कार्यदल बनाएर घाइतेहरूको वर्गीकरण गरिनेछ।

काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालमा क्लिनिक स्थापना भएका छन्।

त्यस्तै प्रदेशगत रूपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा समेत “जेन–जी क्लिनिक” सञ्चालनमा ल्याइएको छ।

यसैसँगै घाइतेहरूको उपचारमा सहजताका लागि अस्पतालहरूमा फोकल पर्सन तोकिएका छन् भने अन्तिम निर्णय मन्त्रिपरिषद्को बैठकले गर्नेछ।

हेर्नुहोस् डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएका अस्पताल र सम्पर्क नम्बर–

  • २०८२ असोज १२, आइतबार १४:४७