१० वाणिज्य बैङ्कहरूको लेखापरीक्षण भोलिदेखि सुरु हुने भएको छ । लेखापरीक्षणका लागि छनोट भएको बङ्गलादेशी हावलदार युनुस एन्ड कम्पनीको टोली भोलि काठमाडौँ आए लगत्तै बैङ्कहरूको लेखापरीक्षण पक्रिया सुरु हुने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार पहिलो चरणमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआइसी एसिया, प्रभु, एनएमबि, कुमारी, लक्ष्मी सनराइज, हिमालयन र राष्ट्रिय वाणिज्य बैङ्कको लेखापरीक्षण हुने छ । जसमा यी बैङ्कहरूको ऋण लगानीको गुणस्तर मूल्याङ्कन गरिने छ । यस्तै, बैङ्कहरूको कर्जाको अवस्था, वर्गीकरण, निष्क्रिय कर्जा, प्रोभिजन व्यवस्था, पुनर्संरचना नीति, कर्जा असुली, जोखिम व्यवस्थापन प्रणाली लगायतका विषयमा अध्ययन हुने छ ।
यी कार्य हावलदार युनुस एन्ड कम्पनीले ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा गर्ने छ । विश्व बैङ्कको आर्थिक सहयोगमा राष्ट्र बैङ्कले यी १० बैङ्कको लेखापरीक्षण गराउन लागेको हो । त्यसपछि दोस्रो चरणमा राष्ट्र बैङ्कले अन्य १० बैंंकको समेत लेखापरीक्षण गराउने योजना बनाएको छ ।
सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा लिएको छ । कर्जा दिँदा नै विभिन्न सर्तहरू राखेको थियो । जसमध्येको एउटा सर्त अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत नेपाली वाणिज्य बैङ्कहरूको कर्जा गुणस्तर परीक्षण समेत थियो । सोही सर्तअनुसार राष्ट्र बैङ्कले १० वटा बैङ्कहरूको लेखापरीक्षण गराउन लागेको हो ।