• २०८३ असार २५
  • 2026 July 09, Thursday

किन आम्ने साम्ने भए अफगानस्तान र पाकिस्तान ?

पाकिस्तान र अफगानिस्तानबिचको पुरानो सीमा विवाद अहिले फेरि एक पटक खुला द्वन्द्वमा परिणत भएको छ। गत सातादेखि सुरु भएको दुवै देशबिचको गोलाबारी र हवाई आक्रमणले फेरि एक पटक युद्धको रूप लिने हो कि भन्ने चिन्ता पैदा भएको छ।

यो ताजा सङ्घर्षको बीउ यसै साताको सुरुवातमा रोपिएको थियो, जब अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा हवाई बम प्रहार गरेको आरोप लगाए। पाकिस्तानले भने त्यस आरोपको कडा खण्डन गर्दै “कुनै पनि सैन्य कारबाही गरिएको छैन” भन्ने अडान लिएको थियो।

तर अफगान पक्षको भनाइमा यी आक्रमणहरूले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता माथि प्रत्यक्ष प्रहार गरेको थियो। यही पृष्ठभूमिमा अफगान सेनाले शनिबार राति ठुलो जवाफी अपरेसन सञ्चालन गरेको दाबी गरेको छ।

२५ चौकी कब्जा, ५८ पाकिस्तानी सैनिक मारिएको दाबी

तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले शनिबार राति पाकिस्तानका २५ वटा सैन्य चौकीहरू कब्जा गरेको र कारबाहीका क्रममा ५८ जना पाकिस्तानी सैनिक मारिएका र करिब ३० जना घाइते भएका छन्। उनका अनुसार यो आक्रमण “देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्तामाथि पाकिस्तानले गरेको बारम्बारको उल्लङ्घनको जवाफ” थियो।

अफगान रक्षा मन्त्रालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यदि विपक्षी पक्षले पुनः हाम्रो भूभागमा अतिक्रमण गर्ने प्रयास गर्‍यो भने अफगान सेनाले सीमाको रक्षा गर्न कडा र निर्णायक जवाफ दिनेछ।”

राज्य सञ्चालित मिडिया आरटीएले समेत दक्षिणी हेलमन्ड प्रान्तमा तीन वटा पाकिस्तानी पोस्ट कब्जा गरिएको र १५ जना सैनिक मारिएको पुष्टि गरेको छ।

तर पाकिस्तान सरकारले भने अफगान पक्षको दाबीलाई अस्वीकार गर्दै उल्टै तालिबान सेनाले सीमा उल्लङ्घन गरेको आरोप लगाएको छ।
प्रधानमन्त्री शहबाज सरिफले शनिबार रातिको घटनाप्रति कडा प्रतिक्रिया दिँदै भनेका छन्, “अफगानिस्तानको उक्साहटको हाम्रो सेनाले उचित जवाफ मात्र दिएन, उनीहरूको धेरै चौकीहरू पनि नष्ट गरी पछि हट्न बाध्य पार्‍यो।”

त्यस्तै, पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले पनि चेतावनीका स्वरमा भने, “भारतजस्तै अफगानिस्तानको यस्ता उक्साहटपूर्ण गतिविधिलाई पनि उपयुक्त जवाफ दिइनेछ।” उनले यस सन्दर्भमा वर्षको सुरुमा दुई आणविक सशस्त्र राष्ट्रहरूबिचको युद्धजस्तो सङ्कट पुनः नदोहोरियोस् भन्ने चेतावनी दिएका छन्।

दुवै देशबिचको २,६११ किलोमिटर लामो ड्युरान्ड रेखा अझै पनि विवादित रहेको छ र अफगानिस्तानले आजसम्म यसलाई औपचारिक सीमा मान्यता दिएको छैन। यही कारणले सीमा क्षेत्रमा निरन्तर झडप भइरहने गरेको हो।

पाकिस्तानी सुरक्षा अधिकारीहरूको अनुसार, अफगान सेनाले चित्राल, बाजौर, मोहमण्ड, अङ्गुर अड्डा र कुर्रमसहित खैबर पख्तुनख्वा प्रान्तका सीमा क्षेत्रहरूमा गोली प्रहार गरेको छ। त्यसको प्रत्युत्तरमा पाकिस्तानी सेनाले खैबर जिल्लाको तिहार क्षेत्र र नङ्गरहार प्रान्ततर्फ भारी हतियार प्रयोग गरेको बताइएको छ।

केही दिन पहिला अफगान विदेश मन्त्री अमिर खान मुत्तकीको भारत भ्रमण र भारतले काबुलमा आफ्नो मिसनलाई उच्चस्तरमा अपग्रेड गर्ने निर्णयको घोषणाले पनि पाकिस्तान चिढिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ। जसले यी दुई देशबिचको तनावमा मलजल गरेको बुझ्न सकिन्छ।

द्वन्द्वले व्यापारिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण तोरखाम नाका आइतबार बिहान खुल्नुपर्ने समयमा पनि बन्द रहेको छ, जसले दुई देशबिचको व्यापार र मानव आवागमन समेत पूर्ण रूपमा अवरुद्ध बनाएको छ।