• २०८३ असार २५
  • 2026 July 09, Thursday

भोटेकोशी ‘जेनजी ग्रुप’ले मारे बाजी, लिए भोटेकोशीको १० प्रतिशत शेयर

जेनजी आन्दोलनको दबाबपछि भोटेकोशी गाउँपालिकाको एक जेनजी समूहले भोटेकोशी जलविद्युत् आयोजनाबाट १० प्रतिशत सेयर प्राप्त गरेको छ।

भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीयको समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर माग्दै आयोजनाको कामकाज एक महिनादेखि बन्द गराएको थियो ।

आइतबार ‘भोटेकोशी पावर कम्पनी’ र ‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’बीच भएको सम्झौतापछि आयोजना पुनः सञ्चालनमा आएको हो। सम्झौतामा जेनजी कम्पनीका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन्।

स्रोतका अनुसार २० हजार स्थानीय सेयर सदस्य समेटिएको कम्पनीमार्फत १० प्रतिशत सेयर बिक्री गरिने र त्यसको भुक्तानी डिभिडेन्ड र बोनसबाट क्रमशः मिलाउने व्यवस्था गरिएको छ।

यसअघि पनि राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा स्थानीयलाई ६ प्रतिशत सेयर दिने सहमति भइसकेको थियो। तर भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि ‘भोटेकोशी जेनजी ग्रुप’ नामक समूहले आयोजना बन्द गर्दै १० प्रतिशत सेयर नि:शुल्क माग गरेको थियो।

कम्पनीले सेयर दिने तयारी त देखाए पनि नि:शुल्क दिन अस्वीकार गरेपछि लामो समय आयोजना ठप्प भएको थियो। अन्ततः आइतबार दुबै पक्षबीच सम्झौता भई २०७१ सालको पुरानो सम्झौतामा तोकिएको ६ प्रतिशत सेयरमा थप ४ प्रतिशत वृद्धि गरी कुल १० प्रतिशत कायम गर्ने सहमति भएको हो।