पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगु संक्रमण तीव्र रूपमा बढेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांक अनुसार, सन् २०२५ को सुरु यानि गत पुस मध्यदेखि हालसम्म ५ हजार ८७४ जनामा डेंगु पुष्टि भइसकेको छ। पछिल्लो सातामा मात्रै ४१३ नयाँ संक्रमित थपिएका छन्। ७५ जिल्लामा फैलिएको संक्रमणका कारण हालसम्म ४ जनाको मृत्यु भइसकेको छ।
क्षेत्र अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी १५१ जना संक्रमित थपिएका छन्, त्यसपछि बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जना रहेका छन्।
नेपालमा डेंगु पहिलो पटक २००४ मा चितवनमा पत्ता लागेको थियो। सुरुमा तराई क्षेत्र सीमित रहे पनि २०१८ पछि पहाडी क्षेत्रमा पनि फैलिन थालेको छ। २०२० मा धरानबाट फैलिएको डेंगुमा १८ हजारभन्दा बढी संक्रमित भएका थिए भने १२ जनाको मृत्यु भयो। २०२२ मा ७७ जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित र ८८ जनाको मृत्यु भएको थियो। २०२३ र २०२४ मा पनि डेंगुका उच्च सङ्ख्यामा संक्रमित भेटिएका थिए।
डेंगुका लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाका गेडी दुख्ने, मांसपेशी, घुँडा र ढाड दुख्ने, शरीरमा रातो दानाहरू देखिनु हुन्। संक्रमितको अवस्था सुधार भए पनि ७२ घण्टासम्म “क्रिटिकल फेज” रहन सक्छ, जसमा जटिलता आउन सक्छ।
जनस्वास्थ्य विशेषज्ञका अनुसार, डेंगु फैलिनुमा बढ्दो तापक्रम, उच्च जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो वर्षा र लामखुट्टेको वृद्धि विकासका लागि अनुकूल वातावरण मुख्य कारण हुन्। लामखुट्टेको वृद्धि विकास हुने ठाउँ भनेको पानी जमेको ठाउँ हो। वर्षाको कारणले पानी जमेको ठाउँमा मुख्यतः टायरहरू, गमलाका प्लेटहरू र फालेका कन्टेनरहरूमा यसको वृद्धि विकास हुनसक्ने अवस्था रहन्छ। लामखुट्टे हुर्किन चाहिने तापक्रम मुख्यतः २८ देखि ३२ डिग्री सेन्टिग्रेड हो।
एडिस एजेप्टाई र एडिस एल्बोपिक्टस नामक लामखुट्टे मानिसहरूसँग बस्न रुचाउँछन् र विशेषगरी घरभित्र अँध्यारो वा छायायुक्त ठाउँमा, टेबल मुनि र पर्दा पछाडि बस्न रुचाउँछन्। बिहान र साँझ घाम झुल्कने समयमा टोक्ने सम्भावना बढी हुन्छ।
डेंगुबाट बच्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो। त्यसका लागि साँझ–बिहान बाहिर ननिस्कनु, पूरा शरीर ढाक्ने लुगा लगाउनु, झ्याल–ढोकामा जाली हाल्नु, झुलमा सुत्नु र धुप वा अन्य कीटनाशक प्रयोग गर्नु प्रभावकारी उपाय हुन्। साथै सामुदायिक तहमा लामखुट्टे वृद्धि हुने स्थानलाई नष्ट गर्नु उत्तिकै आवश्यक छ। लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सबैभन्दा प्रभावकारी उपाय मानिन्छ।
डेंगु सामान्य रोग नभई, एउटै व्यक्तिलाई दोस्रो पटक संक्रमण हुँदा अवस्था जटिल हुन सक्छ। आन्द्रामा रक्तस्राव वा शरीरमा प्लाज्मा लिकेज हुँदा रक्तचाप घटेर मृत्यु हुने सम्भावना रहन्छ। विशेष गरी बच्चा, बृद्ध र दीर्घरोगी व्यक्तिहरू बढी जोखिममा हुन्छन्। यसैले रोग नियन्त्रणको मुख्य उपाय लामखुट्टेको वृद्धि र विकास रोक्नु नै हो।