• २०८३ असार २५
  • 2026 July 09, Thursday

देउवा सहभागी हुने कांग्रेस बैठकमा सुरक्षा दिँदै तरुण दल र नेविसंघका कार्यकर्ताहरू

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केही बेरमै सानेपास्थित पार्टी कार्यालयमा सुरु हुँदैछ। बैठक सुरु हुनु अघि नै कार्यलय परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

जेन–जी आन्दोलनका क्रममा पिटाइ खाएका सभापति शेरबहादुर देउवा त्यसयता पहिलो पटक पार्टी बैठकमा सहभागी हुन लागेकाले सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाइएको हो। अहिले पार्टी कार्यालयको प्रवेशद्वार बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन्। साथै, कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका कार्यकर्ताहरू पनि सुरक्षा सहयोगका लागि उपस्थित छन्।

बैठकमा सहभागी हुन नेताहरू सानेपा पुग्ने क्रम सुरु भएको छ। सुरक्षा कारण देखाउँदै केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालयभित्र सवारीसाधन प्रवेश गर्न नदिइएको र उनीहरूलाई अन्यत्रै पार्किङ गर्न निर्देशन दिइएको छ।

पत्रकार प्रवेशमा पनि नियन्त्रण गरिएको छ। सबैको ध्यान अब सभापति देउवाको उपस्थितितर्फ केन्द्रित भएको छ।