चालु आर्थिक वर्षको पहिलो २ महिनामा साढे ३ खर्ब बढी रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गएको साउन र भदौमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव १ प्रतिशतले बढी हो ।
राष्ट्र बैंकका अनुसार गत भदौ महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ र साउन महिनामा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो ।
यस अवधिमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १४ दशमलव २ प्रतिशतले बढेको थियो ।
साउन र भदौमा गरी वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएर ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिएर ४५ हजार ८८४ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ थियो ।