• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

देशको ढुकुटीमा २० अर्ब अमेरिकी डलर सञ्चित, २० महिनाको आयात धान्ने

सरकारको ढुकुटीमा रहेको विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले देशको ढुकुटीमा २० अर्ब ४१ करोड अमेरिकी डलर सञ्चित रहेको देखाएको हो ।

गत असार मसान्तमा यस्तो सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलर थियो । असारदेखि भदौसम्म आइपुग्दा सञ्चिति ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको हो ।

नेपाली रुपैयाँमा यो सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ बराबर हो । गत असार मसान्तमा ढुकुटीमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित थियो । तर भदौ मसान्तसम्म त्यस्तो सञ्चिति ७ दशमलव ६ प्रतिशतले बढेर झन्डै २९ खर्ब पुगेको हो ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३ दशमलव ७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९ दशमलव ७ महिनाको वस्तु र १६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको सञ्चिति बढ्दा चालु खाता तथा शोधनान्तर बचतमा देखिएका छन् । समीक्षा अवधिमा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता बचत ५४ अर्ब ४१ करोड मात्र थियो ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा चालु खाता ४१ करोडले बचतमा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९३ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ रहेकोमा यस अवधिमा २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति ७६ करोडले बचतमा थियो । तर चालु आर्थिक वर्षको महिनामा अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब १० करोडले बचतमा पुगेको छ ।