• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

किन निरन्तर उकालो लागिरहेको छ सुनको मूल्य ?

काठमाडौँ। विश्व बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड बनाउँदै गएको छ । यसको असर नेपालको बजारमा नपर्ने कुरै भएन । नेपालमा सुन इतिहासकै महँगो भएको छ । यो समाचार तयार पार्दाको समयमा नेपालमा सुनको मूल्य तोलामा प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो।

तर आखिर किन यस्तो भइरहेको छ ? किन सुन लगातार उकालो लाग्दै छ ? आज हामी त्यही सुनको मूल्य बढ्ने वास्तविक कारणहरू खोज्नेछौँ, जसले केवल बजार होइन, पूरै अर्थतन्त्रमा प्रभाव पारेको छ ।

अमेरिकी डलर कमजोर

सुनको मूल्य सधैँ अमेरिकी डलरमा निर्धारण हुन्छ। हाल अमेरिकी डलर कमजोर बन्दै गएको छ, फेडरल रिजर्भले ब्याजदर घटाउने सङ्केत दिएपछि लगानीकर्ताहरू सुनमा आकर्षित भएका छन् । जब डलर कमजोर हुन्छ, अरू देशका व्यापारी र लगानीकर्ताले सस्तो महसुस गर्छन् र सुन खरिद बढाउँछन्।
यसले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढाउँछ, जसको प्रत्यक्ष असर नेपालमा देखिन्छ। नेपाली रुपैयाँ पनि डलरको तुलनामा कमजोर छ, त्यसैले आयातित सुन झन् महँगो पर्छ।

मुद्रास्फीति र आर्थिक अनिश्चितता

विश्व अर्थतन्त्र अहिले अस्थिर अवस्थामा छ।अमेरिका र युरोपका अर्थतन्त्रमा मन्दीको डर, चीनमा उत्पादन घट्दो र विश्वव्यापी मूल्यवृद्धिले लगानीकर्तालाई तनावमा पारेको छ । जब कागजी मुद्राको मूल्य घट्ने डर हुन्छ, लगानीकर्ताहरू सुनलाई सुरक्षित विकल्पका रूपमा रोज्छन् । मुद्रास्फीति चर्किँदा यसको माग स्वाभाविक रूपमा बढ्छ।

नेपाल पनि यसैको असरबाट मुक्त छैन । रुपैयाँको क्रय शक्ति घट्दो अवस्थामा सुनमा लगानी गर्ने सोचले बजारमा माग बढाएको छ।

तेलको मूल्य र विश्व राजनीति

मध्यपूर्वमा बढ्दो तनाव र तेल आपूर्तिमा अस्थिरताले पेट्रोलियमको मूल्य बढ्दै गएको छ। तेल बढ्दा उत्पादनदेखि ढुवानीसम्म सबै महँगो हुन्छ, जसले विश्वव्यापी मुद्रास्फीति बढाउँछ। इजरायल–गाजा युद्ध, युक्रेन सङ्कट र अमेरिका–चीन व्यापार टकराबले बजारमा अनिश्चितता थपेका छन्। जति तनाव बढ्छ, सुन त्यति चम्किन्छ।

ठुला देशका बैङ्क र लगानी कोषहरूको सुनमा लगानी

गत वर्षदेखि चीन, भारत, टर्की लगायतका ठुला देशहरूले आफ्नो रिजर्भमा सुनको मात्रा बढाइरहेका छन्। राष्ट्र बैङ्कहरूले जब सुन किन्ने लहर चलाउँछन्, त्यसले बजारमा “कागजी मुद्रामा भरोसा घट्दै छ” भन्ने सन्देश दिन्छ। यसले अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य उकालो लगाउँछ।ठुला हेज फन्ड र गोल्ड ETF हरूले पनि लगातार खरिद बढाइरहेका छन्, जसले बजारमा अतिरिक्त दबाब सिर्जना गरेको छ।

सुस्त शेयर बजार, स्थिर रियल स्टेट

नेपालसहित विश्वभर शेयर बजारमा उतारचढाव छ। जसले गर्दा लगानीकर्ताहरू “कम जोखिम, स्थायी मूल्य” का लगानीका क्षेत्रहरूको खोजी गरिरहेका छन्। त्यही भएर अहिले सुन सुरक्षित विकल्पको रूपमा पुनः केन्द्रमा आएको छ। सुन अहिले नाफाको भन्दा पनि सुरक्षा खोज्ने साधन बनेको छ।

अर्थशास्त्रमा एउटा भनाइ छ “जब डर बढ्छ, सुन चम्किन्छ” । अहिले विश्व बजारमा डर बढिरहेको छ। मुद्रास्फीति, युद्ध, ब्याजदर, ऋण सङ्कट सबैले अनिश्चितता ल्याएका छन्। त्यसैले लगानीकर्ताले जोखिमयुक्त सम्पत्ति बेच्दै सुन किन्ने दौड चलाएका छन्। यो नै सुनको निरन्तर मूल्य वृद्धिको सबैभन्दा मनोवैज्ञानिक कारण हो।

नेपालको हकमा हेर्ने हो भने सुनको महत्त्व विशेष रहँदै आएको छ। विभिन्न चाडपर्वहरू, विवाह र पूजापाठको सिजन सुरु भएको छ। सांस्कृतिक रूपमा सुनको माग हरेक वर्ष यिनै समयमा बढी हुने गरेको छ। सुन आयात गर्दा नेपालमा उच्च भन्सार शुल्क, कर र व्यापारीको जोखिम लागत थपिने भएकाले अन्तर्राष्ट्रिय बजारको तुलनामा मूल्य अझै बढी हुन्छ। अर्थात्, बाहिरको सानो वृद्धि नेपालमा ठुला अङ्कमा रूपान्तरण हुन्छ।